अन्तर्राष्ट्रिय वित्त निगमको नेपाल आवासीय प्रतिनिधिमा रत्निजा अरन्दरा नियुक्त

22
0
Share:

काठमाडाैं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले रत्निजा अरन्दरालाई नेपालका लागि आवासीय प्रतिनिधिको रूपमा नियुक्त गरेको छ।

विश्व बैंक समूहको सदस्य संस्था आईएफसीले काठमाडौँमा आधारित रहेर नेपालको लगानी विस्तार, सल्लाहकार सेवा प्रवर्धन र समावेशी विकासमा प्रभावकारी उपस्थिति बढाउने लक्ष्यसहित अरन्दरालाई नेतृत्वको जिम्मेवारी दिएको हो।

श्रीलंकाली नागरिक रत्निजा सन् २०११ देखि आईएफसीमा आबद्ध छिन्। यस अवधिमा उनले दक्षिण एशियाली मुलुकहरूमा वित्तीय समावेशिता, कृषि व्यवसाय सुदृढीकरण, तथा लगानी वातावरण सुधारका क्षेत्रमा उल्लेखनीय योगदान दिएकी छन्। यसअघि उनी आईएफसीको “कन्ट्री एड्भाइजरी तथा इकोनोमिक्स” टिममा आवद्ध थिइन्।

नेपालमा रहेर उनले आईएफसीको अपस्ट्रिम व्यावसायिक सहभागिता विस्तार गर्नुका साथै निजी र सार्वजनिक क्षेत्रसँगको साझेदारी गहिर्याउने योजना छ। अरन्दराको विगतको अनुभव बहुआयामिक छ। उनले स्विट्जरल्यान्डको ओरेकल एजी र इन्डोनेसियाको पिडब्लुसीमा काम गरेकी थिइन्। श्रीलंकामा उनी नेशनल डेभलपमेन्ट बैंकमा लगानी अधिकृतको रूपमा कार्यरत थिइन्।

आईएफसीले पछिल्लो पाँच वर्षमा करिब ७० करोड अमेरिकी डलर बराबरको लगानी नेपालमा प्रतिबद्ध गरेको छ। सन् २०२४ मा मात्र ८४ मिलियन डलर बराबरको लगानी पूर्वाधार, उत्पादन, कृषिजन्य सेवा र वित्तीय क्षेत्रमा गरिएको छ।

Share: