
काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र नेपाललाई पार्नसक्ने प्रभावबारे सचेत रहनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा गौतमले भारत र पाकिस्तानबीच तनावले नेपाललाई पार्ने अल्पकालीन र दीर्घकालीन प्रभावहरूका बारेमा नेपाल सरकारले समयमै सचेत भएर छलफल अघि बढाउनुपर्ने बताएका हुन् ।
गौतमले हालको संवेदनशील अवस्थामा राजनीतिक दलहरूबीच आपसी विभेद नराखी एकता कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । “आजको आवश्यकता राष्ट्रिय एकता र साझा सोच हो,” उनले भने, “नेताहरूको अभिव्यक्तिले राजनेताको भूमिका झल्किनु आवश्यक छ ।”
संविधान संशोधन, संघीयताको सुदृढीकरण, र नेपाली संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका विषयमा न्यूनतम सहमति बनाइ अघि बढ्नुपर्ने बताउँदै उनले सबै राजनीतिक दलहरूलाई राष्ट्रिय सरोकारका विषयमा जिम्मेवार बन्न आह्वान गरे ।
त्यस्तै, गौतमले राष्ट्रिय निकुञ्ज क्षेत्रमा बढ्दो जंगली जनावरको त्रासका विषयमा पनि सरकारको ध्यानाकर्षण गराए ।