साढे ९ करोडमा टिचिङमा मीनबहादुरले बनाइदिए भवन, प्रधानमन्त्रीको उपस्थितिमा हस्तान्तरण

36
0
Share:

काठमाडौं । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङद्वारा त्रिवि शिक्षण अस्पतालमा नवनिर्मित ईएचएस भवनको आज उद्घाटनसँगै हस्तान्तरण गरिएको छ ।

अस्पतालको वार्षिकोत्सवको दिन पारेर प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भवन हस्तान्तरण गरिएकाे हाे । उक्त भवन ९ करोड ५० लाख लागतमा निर्माण गरिएको कार्यक्रममा जानकारी दिइयो ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङले स्व. मातापिता वृषबहादुर र धनमाया गुरुङको सम्झनामा उक्त भवन बनाइदिएका हुन् । यसअघि ०६८ सालमा पनि गुरुङले १० करोड रूपैयाँ लागतमा आकस्मिक कक्षको भवन बनाइदिएका थिए ।

भवन हस्तान्तरण कार्यक्रममा गुरुङले भने, ‘२०६८ सालमा आकस्मिक कक्ष राख्ने भवन आवश्यक परेकाले १० करोडको लागतमा निर्माण गरेका थियौँ । अस्पताललाई थप सेवा दिन भवन चाहिएको रहेछ, पुनः नयाँ भवन निर्माण गरेर आज हस्तान्तरण गरेका छौँ । भाटभटेनीका तर्फबाट जहिले पनि अग्रपंक्तिमा रहेर देश, जनता र राष्ट्रको सेवामा स्वमनले, राष्ट्रबाट केही पाइन्छ कि भनेर आशा नगरी सफा मनले सहयोग गर्न तयार छौँ ।’

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईले ओपीडी र परीक्षण सेवा नयाँ भवनबाट सञ्चालन गर्ने बताए ।

Share: