
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएसँगै नेपाल सरकारले ल्याएको बजेट पनि कार्यान्वयनमा गएको छ । गत जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेट दुवै सदनबाट पारित भइसकेको छ । अब बजेटमार्फत लिइएका नीति तथा कार्यक्रमहरू व्यवहारिक चरणमा प्रवेश गरेका छन् ।
अर्थ मन्त्रालयले बुधबार नै बजेट कार्यान्वयन गर्न आवश्यक ‘बजेट कार्यान्वयन मार्गदर्शन’ तयार गरी सबै मन्त्रालय, विभाग र निकायहरूमा सर्कुलर गरेको छ । यसमार्फत सरकारी निकायहरूलाई आ-आफ्नो क्षेत्रअनुसार बजेट खर्च, योजनाहरुको कार्यान्वयन र अनुगमनमा सक्रिय हुने मार्ग निर्देशन दिइएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याएको छ । चालु शीर्षकमा ११ खर्ब ८० अर्ब, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च गर्ने योजना सहित बजेट ल्याएको छ ।
त्यस्तै, चालु आर्थिक वर्षमा सरकारले राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड व्यहोरिने लक्ष्य लिएको छ । वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने लक्ष्य राखेको छ ।