
काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले अहिलेको अवस्थामा नयाँ बैंकको लाइसेन्स दिन नसकिने स्पष्ट पारेकी छन् । काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रममा ढुंगानाले नयाँ बैंक स्थापनाबारे चर्चा भए पनि अहिले नै लाइसेन्स बाँड्न सक्ने स्थिति नरहेको बताएकी हुन् ।
उनले भनिन्, ‘कतिपय बैंकहरूमा समस्या देखिएकाले मर्ज गरिएको हो, र अहिले बैंकिङ क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धाको अवस्था सिर्जना भएको छैन। त्यसैले अहिले नयाँ बैंक खोल्न दिन सकिने अवस्था छैन।’
ढुंगानाका अनुसार नेपाल राष्ट्र बैंकले करिब दुई वर्षअघि गरेको अध्ययनमा नेपालमा १५ देखि १८ वटा वाणिज्य बैंक पर्याप्त हुने निष्कर्ष निकालिएको थियो। उनले अध्ययनविना नयाँ लाइसेन्स वितरण गर्नु यथोचित नहुने स्पष्ट पारिन्।
‘हामीले दुई वर्षअघि नै अध्ययन गरेर बैंकहरूको उपयुक्त सङ्ख्या निर्धारण गरेका थियौँ,’ उनले भनिन्, ‘अब त्यसै अध्ययनलाई मिचेर नयाँ लाइसेन्स दिन मिल्दैन। कुनै पनि विषयमा अध्ययनबिना हतारमा निर्णय लिन सकिँदैन।’
डिजिटल बैंकको सन्दर्भमा भने उनले आवश्यक अध्ययन र तयारीका आधारमा संस्थागत संरचना बनाउने कुरामा राष्ट्र बैंक सकारात्मक रहेको उल्लेख गरिन् ।