
काठमाडौं / नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पाँचै वर्ष टिक्ने बताएका छन् बिहीबार कांग्रेस ललितपुर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा निधिले अहिलेको गठबन्धन पाँचै वर्ष टिक्ने उल्लेख गरे । उनले एमालेको प्रभावबाट माओवादी मुक्त भइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएलगत्तै कांग्रेस सरकारमा जाने पनि स्पष्ट पारे ।
नेता निधिले पाँच वर्षमा तीनजना प्रधानमन्त्री बन्ने बताए । उनले पहिलो कार्यकालमा प्रचण्ड निरन्तर रहने बताए । उपराष्ट्रपति निर्वाचनलगत्तै अर्को समीकरण बन्ने हल्लालाई खण्डन गर्दै प्रचण्डले आफ्नो कार्यकाल पूरा गर्ने बताए । प्रचण्डपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने उनको भनाइ थियो ।
अन्तिम कार्यकाल चुनावी सरकारको नेतृत्व भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने उनको भनाइ थियो । तर कति कति वर्ष भन्ने उनले खुलाउन चाहेनन् ।राष्ट्रपति निर्वाचनअघि नयाँ गठबन्धन गर्ने बेला कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षहरू पालैपालो प्रधानमन्त्री बन्ने भित्री सहमति भएको थियो । तर कति वर्ष भन्ने अहिलेसम्म खुलेको छैन । चुनावी सरकारको नेतृत्व भने कांग्रेस सभापति देउवाले गर्ने भन्ने धेरैको अनुमान छ ।