
काठमाडौँ/नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।यसअघि गत माघ १९ गते सुनको मूल्य हालसम्मकै महँगोमा कारोबार भएको थियो ।
उक्त दिन सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा ४ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदीको मूल्य पनि बढेको छ ।आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।