मन्त्रिपरिषद् बैठक बस्दै : ३० औँ आइजीपी नियुक्ति गर्ने तयारी, यी हुन् सम्भावित आइजीपी?

180
0
Share:

काठमाडौँ/ मन्त्रिपरिषदको नियमित बैठक आज बस्दै छ । दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैडकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ ।प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह भोलिबाट अवकाशमा जाँदै हुनुहुन्छ । सिंहको अवकाशसँगै ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुबीच तीव्र प्रतिस्पर्धा छ ।

 

आईजीपीको दाबेदारमा ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरु हुनुहुन्छ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा पदोन्नति हुनुभएको थियो ।उहाँहरूमध्ये एक जना आइजीपी बन्नुहुनेछ ।प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने, नेतृत्व दिनसक्ने र आफू मुनिकालाई प्रोत्साहन गर्नसक्ने व्यक्तिलाई आइजिपी बनाउन सक्ने उल्लेख छ ।

 

यही चैत १० ( आज) मा प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंह अवकाश हुँदा उहाँसँगै तीन एआइजी पनि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । सिंहकै ब्याची एआइजी सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा जानुहुनेछ ।हाल बढुवा भएका एआइजीमध्ये एक जना महानिरीक्षकमा पदोन्नति भएपछि १० गते रातिपछि त्यो पदसहित गरेर चार एआइजीको पद पुनः रिक्त हुन्छ ।

 

हालका महानिरीक्षक सिंहको अवकाशपछि रिक्त हुने चार एआइजीमा डिआइजी सन्दीप भण्डारी, सुदीप गिरी, टेक तामाङ, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, पोषराज पोखरेल र किरण राणाबीच प्रतिस्पर्धा हुने केन्द्रीय प्रवक्तासमेत रहनुभएका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।चैत ११ पछि बढुवा हुने महानिरीक्षकको कार्यविधि संशोधनका लागि प्रक्रियामा रहेको ३० वर्षे उमेर हद नहटाइएको खण्डमा विसं २०८१ चैतसम्मको रहनेछ ।

 

यसअघि महानिरीक्षकको बढुवामा राजनीतिक हस्तक्षेप भएको भनेर चर्को आलोचनासमेत हुने गरेको थियो । पूर्व प्रहरी अधिकारी भने अब त्यसबाट मुक्त हुन जरुरी रहेको बताउनुहुन्छ । गृह मन्त्रालय स्रोतका अनुसार आउँदो मन्त्रिपरिषद्को बैठकले सोमबार पदोन्नति हुनुभएका एआइजीमध्येबाट एक जनालाई प्रहरी महानिरीक्षकमा पदोन्नतिको निर्णय गर्नेछ ।एआइजीमा पदोन्नति हुनुभएका किरण बज्राचार्य प्रहरी इतिहासमै पहिलो पटक प्रहरीको सर्वोच्च (महानिरीक्षक) पदको प्रतिस्पर्धी बन्ने महिला हुनुहुन्छ । यसअघि अतिरिक्त महानिरीक्षकमा पुगे पनि पूजा सिंह भने महानिरीक्षकको प्रतिस्पर्धामा सामेल हुन पाउनुभएको थिएन ।

 

बज्राचार्यसँगै डिआइजीमा बढुवा हुनुभएका मीरा चौधरी, दुर्गा सिंह र किरण राणा एआइजी बढुवामा नै पछि पर्नुभएकाले उहाँ महानिरीक्षकको प्रतिस्पर्धामा एक्लो महिलाका रुपमा प्रतिस्पर्धी हुने अवसर प्राप्त गर्नुभएको हो ।

 

Share: