अध्यागमन अधिकृत पराजुली विरुद्ध मुद्दामा सर्वोच्च पुग्यो अख्तियार

190
0
Share:

काठमाडौँ/तत्कालीन अध्यागमन अधिकृत कमल प्रसाद पराजुलीविरुद्ध विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।विशेष अदालतले पराजुलीलाई १० महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने तथा अन्य आरोपमा दाबी नपुग्ने फैसला गरेको थियो । यही मुद्दामा मुछिएका अन्यलाई विशेष अदालतले सफाइ दिएको थियो ।

 

अख्तियारका प्रवक्ता भोला दाहालले विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेकाले चैत १० गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जानकारी दिए ।पराजुली अध्यागमन कार्यालयमा हुँदा घुस लिएको र गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । पराजुलीमाथि श्रम स्वीकृति नलिई दुबई, कतार लगायतका देशमा मानिसहरुलाई पठाउने, ती देशमा ट्रान्जिट भई अन्य मुलुकमा जान प्रस्थान अनुमति दिने र अभिलेख मेटाउने आरोप थियो ।

 

पराजुलीलाई २०७६ साल साउन २१ गते अख्तियारले पक्राउ गरेको थियो ।अख्तियारले कमल पराजुलीसँगै मनहरी बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, विजय सापकोटा, शैलेन्द्र ढकाल, वीरसिङ भण्डारी, पदमप्रसाद बजगाईं, जगदिशचन्द्र नेपाली तथा कम्प्युटर अपरेटरहरू रोशन गौतम र भोजप्रकाश न्यौपानेविरुद्ध २४ लाख ८० हजार रुपैयाँ विगो दावी गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

 

Share: