अमेरिकी सभामुख ताइवानी राष्ट्रपतिलाई बुधबार भेट्दै

138
0
Share:

काठमाडौँ/चीनको चेतावनीका बाबजुद अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीले ताइवानका राष्ट्रपति साई इङ वेनसँग बुधबार भेटवार्ता गर्नुहुने भएको छ ।ग्वाटेमाला र बेलिजको भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा बुधबार ताइवानी नेताले सभामुख म्याकार्थीसँग यहाँबाट ६४ किलोमिटर पर अवस्थित रोनाल्ड रोगन पुस्तकालयमा द्विपक्षीय बैठक गर्ने सभामुखको कार्यालयले पुष्टि गरेको छ ।गत साता न्युयोर्क हुँदै ग्वाटेमाला जाने क्रमममा त्यहाँ रहनुभएकी ताइवानी राष्ट्रपतिले त्यहाँस्थित हडसन इन्स्टिच्युटलाई सम्बोधन गर्नुभएको थियो ।

 

ताइवानी नेताले सभामुख म्याकार्थीलाई भेटेमा त्यसले गम्भीर परिणाम निम्त्याउने चेतावनी बेइजिङले दिएको छ । सभामुखसँगको भेटवार्ताले गम्भीर टकराव निम्त्याउनसक्ने बेइजिङले बताउँदै आएको छ ।ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले विदेश भ्राणका क्रममा राष्ट्रपति साई अमेरिकामा ‘ट्रान्जिट’मा बस्नु र उहाँले सभामुखलाई भेट्नु सामान्य हो भन्दै विगतमा पनि धेरै ताइवानी नेता अमेरिका भएर तेस्रो मुलुक प्रस्थान गरेका बताएका थिए ।गत वर्ष पूर्वसभामुख न्यान्सी पिलोसीले ताइवानको भ्रमण गरेर राष्ट्रपति साईलाई भेटेपछि क्रुद्ध भएको बेइजिङले जनमुक्ति सेनालाई ताइवान टापु वरपर उतारेर अभूतपूर्व अभ्यास गरेको थियो ।

 

सभामुख म्याकार्थीले वासिङ्टन डिसीबाट टाढा लस एञ्जलसमा ताइवानी नेतालाई भेट्न गरेको निर्णयलाई ताइवानको समर्थनलाई जोड दिएको र चीनसँगको तनाव भड्काउनबाट बच्न गरिएको विश्लेषण गरिएको छ ।बाह्य दबाबले विश्वका विभिन्न मुलुकसँग सम्बन्ध कायम गर्ने ताइवानको सङ्कल्पमा कुनै बाधा नहुने राष्ट्रपति साईले अमेरिका प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारहरूलाई बताउनुभएको थियो । उहँले आफू शान्त रहने, कसैसँग नझुक्ने र कसैलाई नउक्साउने पनि बताउनुभएको थियो ।

चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ भने राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ ।राष्ट्रपति साईमाथि चिनियाँ दबाब यस्तो समयमा आएको छ जतिबेला ताइवानले अमेरिकासँगको सम्बन्धलाई अनौपचारिक रूपमा भए पनि सुदृढ गर्ने प्रयास गरेको छ ।

 

विश्लेषकहरूका अनुसार साईले सन् २०१६ मा राष्ट्रपति पद सम्हालेपछि बेइजिङले ताइपेईमाथि सैन्य, आर्थिक एवम् कूटनीतिक दबाब बढाएको छ । ताइवानका समर्थकलाई आफ्नो पक्षमा पारेको छ – यसैसाता होन्डुरसरलाई आफ्नो पक्षमा ल्याएझै ।सन् १९७९ मा वासिङ्टनले बेइजिङसँग कूटनीतिक सम्बन्ध स्थापना गरे पनि ताइपेइको अन्तरराष्ट्रिय सहयोगी एवम् साझेदारका रूपमा वासिङ्टन उभिएको छ । अमेरिका नै ताइवानको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता पनि भएको छ । यस्तो पृष्ठभूमिमा रहेको ताइवान र अमेरिकाबीचको सम्बन्ध अनौपचारिक भए पनि औपचारिक सम्बन्ध जत्तिकै महत्वपूर्ण एवम् अर्थपूर्ण रहेको अमेरिका–ताइवान सम्बन्धबारे अध्ययन गरिरहेका जेम्स ली बताउँछन् ।

 

“विश्वमा एउटा मात्र चीन छ । ताइवान चीनको अविभाज्य भाग हो । हामी अमेरिकी पक्ष र ताइवानका अधिकारीहरूबीच हुने कुनै पनि औपचारिक भेटवार्ता र सम्पर्कको विरोध गर्दछौँ, यस्ता भटवार्ता र बैठकले अमेरिका र चीनबीचको सम्बन्धमा दीर्घकालीन असर पर्नेछ,” साईको निर्धारित बैठकलाई लिएर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ।

 

राष्ट्रपति साईका प्रवक्ता जेभियर चाङले “विश्वका प्रजातान्त्रिक मुलुकसँग विचारविमर्श एवम् भेटवार्ता गर्नु ताइवानको अधिकार हो । यसमा चीनले हस्तक्षेप गर्नुको कुनै अर्थ छैन” भनेका छन् ।गत महिना होन्डुरसले ताइवानसँगको सम्बन्ध तोडेछि ताइपेइसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १३ मा झरेको छ । सोमबार बेलिजको भ्रमणका क्रममा ताइवानी राष्ट्रपतिले आफ्नो पक्षमा निरन्तर सहयोग गरेकामा मध्यअमेरिकी देशप्रति आभार व्यक्त गर्नुभयो । साथै उहाँले चीनको उच्चारण नगरी तानाशाही शासनबाट आएको विस्तारवादी धम्कीको निन्दा गर्नुभयो ।

 

Share: