
काठमाडौँ/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी सम्बन्धी मुद्दाको पेसी न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ। लामिछानेको मुद्दाको पालो आठौँ नम्बरमा परेको सर्वोच्च अदालतले जनाएको छ। आज मुद्दाको सुनुवाइ हुने सम्भावना रहेको छ।लामिछानेको राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटको पेसी मंगलबार परे पनि उक्त मुद्दा हेर्न नमिल्ने भन्दै आजका लागि सारिएको हो।
हिजो न्यायाधीश सिन्हाले संवैधानिक इजलासमा रहेर लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ गरिसकेकाले उनको अर्को मुद्दाको सुनुवाइमा बस्न नमिल्ने भन्दै अस्वीकार गरेका थिए।रविविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा चल्नुपर्ने मागदाबी गरिएको रिटमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो।
लामिछानेले राहदानी दुरुपयोग गरेको भनेर परेको उजुरीका सन्दर्भमा मुद्दा नचल्ने भनेर महान्यायाधीवक्ता दिनमणि पोखरेलले गरेको निर्णय बदर हुनुपर्ने माग गर्दै सोमबार सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो।महान्यायाधीवक्ता कार्यालयसँगै जिल्ला प्रहरी परिसर काठमाडौँ, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय र रविलाई रिटमा विपक्षी बनाइएको छ।
युवराज पौडेल ‘सफल’ले लामिछानेमाथि राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएकाले उक्त निर्णय बदर हुनुपर्ने दाबी गर्दै रिट दायर गरेका हुन् ।नागरिकता विवाद मंसिर ४ मा भएको निर्वाचनअघि नै आए पनि उनी चितवन-२ बाट उम्मेदवार हुँदै निर्वाचित भएका थिए। तर सर्वोच्चले नेपाली नागरिक नभएको ठहर गरेपछि सांसद पद गुमाएका थिए।
निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय गरेको थियो। वैशाख १० गते उपनिर्वाचनको मिति तोकिएको छ। त्यसका लागि सोमबार उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। रविले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्।