२६ वर्ष पछि आफ्नै बाहिनीलाई लगेर बेच्ने अभियुक्त पक्राउ

Share:

काठमाडौं/भारतको दिल्लीस्थित वेश्यालयमा २६ वर्षअघि आफ्नै गाउँकी नाताले बाहिनी पर्ने एक महिलालाई लगेर बेच्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। आर्थिक उपार्जन हुने (पैसा कमाउने) काम लगाइदिन्छु भन्दै गाउँबाट काठमाडौं हुँदै झुक्याएर दिल्ली पुर्‍याई महिलालाई बेचबिखन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले महिलालाई दिल्लीस्थित वेश्यालयमा लगेर बिक्री गर्ने फरार प्रतिवादी ५९ वर्षीय प्रेम लामा भन्ने ओमबहादुर तामाङलाई ०७९ चैत २६ गते काठमाडौं महानगरपालिका वडा नम्बर १५ भगवानपाउबाट पक्राउ गरेको जानकारी दिए।

 

डिएसपी न्यौपानेका अनुसार वारदातकै समयदेखि फरार प्रतिवादी तामाङ काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ३ सरमथलीका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेमा तामाङ विरुद्ध दिल्लीस्थित वेश्यालयमा ४ वर्षसम्म नारकीय जीवन बिताएकी पीडितले (परिवर्तित नाम) आ.व. २०५८÷५९ को जिल्ला ३० बोल्दे १ (क) बाट २०५८ साल भदौ २१ गते जाहेरी दिएकी थिइन्।

 

तामाङले २०५४ साल भदौ महिनामा पैसा कमाउने काममा लगाइदिन्छु भनी फकाई पीडितलाई गाउँबाट काठमाण्डौ हुँदै झुक्याएर दिल्लीस्थित् ३ नम्बर कोठीमा लगेर भारु ३५ हजार रुपैँया बेचेका थिए।जिल्ला अदालत काभ्रेबाट जिउ मास्ने बेच्ने (मानव बेचबिखन तथा ओसारपसार) मुद्दामा पहिलो पटकलाई ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

 

मानव तस्करहरुले निम्न आर्थिक तथा चेतनास्तर भएकी महिलालाई राम्रो तलब सुविधासहितको काममा लगाईदिने, विदेश पठाइदिने जस्ता विभिन्न प्रलोभन देखाएर भारतमा लगेर बेच्ने गरेका छन्।

 

Share: