टोखाको विस्केट जात्रा सम्पन्न

128
0
Share:

काठमान्डौ/धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखामा नयाँ वर्षको सुरुआतसँगै सुरु भएको विस्केट जात्रा आज सम्पन्न भएको छ ।नयाँ वर्षको सुरुको दिन सपनतीर्थ मेलासँगै सुरु भएको टोखाको विस्केट जात्रा आज साँझ सकिएको हो । वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दूर जात्रा गरी विस्केट जात्रा सुरु हुने गर्दछ ।

 

वैशाख २ गते बिहान टोखा नगरपालिकाको वडा नं २ गणेशस्थान थलागटोलमा सिन्दूर जात्रा गरेर नगर परिक्रमा गरिने रथलाई सोही दिन माथिल्लो लाछिमा लगेर बिसाइन्छ । वैशाख ३ गते बिहान ६ बजे माथिल्लो लाछिमा सिन्दूर जात्रा गरेर उठाइएको रथ दिउँसो १ बजे वडा नं ३ स्थित हासलटोलमा लगेर बिसाउने चलन छ । बिहान ६ बजेदेखि सुरु भएको रथयात्रालाई गुठी, गुठीयारको घरमा लगेर बाली उठाउने गरिन्छ । दिउँसो १ बजेदेखि ३ बजेसम्म हासलटोलमा राखेर रथको पूजा गर्ने चलन छ ।

 

सोही दिन साँझ ३ बजे उक्त रथलाई हासलटोलबाट उठाएर सरस्वती चौरको पोखरीमा स्नान गराई इन्द्रायणी मसानकाली परिक्रमा गराई वडा नं ३ को सानो लाक्षीमा लगेर बिसाइन्छ ।सोही दिन रातभर गुठीयार र विभिन्न खलःहरू बसेर रातभर भजन कीर्तन गर्ने तथा जाग्राम बस्ने चलन रहेको टोखा नगरपालिका–२ का पूर्व वडाध्यक्ष दीपकराज जोशीले बताउनुभयो । वैशाख ४ गते अर्थात् जात्राको अन्तिम दिन आज बिहान ६ बजे सानोलाक्षीबाट सिन्दूर जात्रा गरी दिउँसो १ बजे वडा नं २ मा रहेको गछेटोलमा लगेर रथ बिसाइन्छ ।

 

उक्त स्थानमा बिसाएको रथलाई विधिवत्रूपमा सरकारी पूजासहित सिन्दूर जात्रा गरेर विभिन्न खलःको उपस्थितिमा नगरपरिक्रमा गराई आआफ्नो देवालयमा भित्र्याउने चलन रहेको छ ।टोखा नगरपालिकाको ऐतिहासिक विस्केट जात्राका अवसरमा आज टोखा नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो ।

 

Share: