
काठमान्डौ/अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतीय निर्वाचनमा आफू पुनः उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । असी वर्षको उमेरमा पनि उहाँ राष्ट्रपतिको दोस्रो कार्यकालका निम्ति मैदानमा उत्रने नेता हुनहुनेछ ।राष्ट्रप्रमुखका रूपमा आफूले शपथ लिएर सुरु गरेका सबै कामलाई पूरा गर्न अर्को कार्यकालका निम्ति आफूलाई पुनः अवसर दिन राष्ट्रपति बाइडेनले मतदातासमक्ष पुनः अनुरोध गर्नुभएको छ । ह्वाइट हाउसमा पुनः उहाँ पुगेमा कार्यकालको अन्त्यतिर उहाँको उमेर ८६ वर्ष हुनेछ ।
आधा शताब्दीभन्दा बढी समय राजनीतिमा लाग्नुभएका उहाँको वासिङ्टन अनुभव उमेरभन्दा महत्वपूर्ण हुने विश्लेषकहरूले बताएका छन् । उहाँ जत्तिकै अनुभवी प्रतिस्पर्धी नभएकाले उहाँको दलले पनि उहाँको उम्मेदवारीलाई अनुमोदन गर्नेछ । बन्दुक हिंसा अन्त्यदेखि सुरक्षित गर्भपतनको अधिकारसम्मका विविध मुद्दाका कारण विभाजित अमेरिकी समाजलाई एकताको सूत्रमा आबद्ध गर्न उहाँले कठोर सङ्घर्ष गर्नुपर्नेछ ।
ट्रम्प प्रशासनले तहसनहस पारेको अमेरिकालाई पुनः लयमा फर्काउने वाचा गरेको चार वर्षपछि राष्ट्रपति बाइडेनले तीन मिनेटको भिडियो सन्देशमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । अधिकभन्दा अधिक अमेरिकी नागरिकको स्वतन्त्रताका निम्ति आफ्नो उम्मेदवारी अपरिहार्य भएको उहाँले बताउनुभएको छ ।