जुँगे महादेवको मूर्ति जाने पुल पुनःनिर्माण हुँदै

132
0
Share:

काठमान्डौ/नेपालगञ्ज उपमहानगरपालिका–२ मा अवस्थित बागेश्वरी मन्दिरभित्र रहेको जुँगे महादेवको मूर्ति जाने पुलको पुनःनिर्माण हुने भएको छ । उपमहानगरपालिकाले मन्दिरमा जाने पुल पुनःनिर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरेर बोलपत्र आह्वान गरी काम सुरु भएको जनाएको छ ।जुँगे महादेवको प्रतिमा रहेको मन्दिर तालमाथि छ । मन्दिर पुनःनिर्माणका लागि तालको पानी सुकाएर मन्दिर र मूर्ति यथावत् राखेर प्रवेशमार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले एक वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम सुरु गरिएको जानकारी दिनुभयो ।

 

“बागेश्वरी प्रसिद्ध शक्तिपीठ पनि भएकाले डिपिआर बनाएर मन्दिर आसपास सौन्दर्यकरण गर्ने योजना निर्माण भएको छ”, उहाँले भन्नुभयो । प्रमुख विष्टले महाआरती सुरु गरेको करिब चार महिनापछि धार्मिक पर्यटनको महत्व बढेकाले भारतीय पर्यटकको आगमन बढेको जानकारी दिँदै महाआरतीमा नजिकका विभिन्न जिल्लाबाट समेत सहभागिता रहेको बताउनुभयो ।मन्दिरसम्म पुग्नका लागि वर्षौँ पहिले बनाइएको प्रवेशमार्ग जीर्ण भएपछि उपमहानगरपालिकाले नयाँ निर्माण गर्न लागेको हो । अब मन्दिरसम्म पुग्ने बाटो फराकिलो बनाइने छ । उहाँले मन्दिरभित्र पूजा गर्ने स्थान पनि फराकिलो हुने जानकारी दिनुभयो । नयाँ संरचना निर्माण भएपछि मन्दिरभित्रका घाटका क्षेत्र फराकिलो हुने र नजिकै पार्कसमेत निर्माण हुने उपमहानगरपालिकाले जनाएको छ ।

 

बागेश्वरी मन्दिरका मठाधीश चन्द्रनाथ योगीले जुँगे महादेवको दर्शन गर्न जाने भक्तजनका लागि साँघुरो भएको पुल नयाँ ढाँचामा निर्माण हुन लागेको जानकारी दिँदै पुरानो पुललाई अग्लो बनाएर पिलर राख्न लागिएको बताउनुभयो ।प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको तालको बीच भागमा रहेको जुँगे महादेवको मूर्ति रहेको मन्दिर भक्तजनको रोजाइमा पर्ने गरेको छ । जीर्ण र साँघुरो प्रवेश मार्ग रहेका कारण शिवरात्रिलगायत विभिन्न चाडपर्वका समयमा भक्तजनको भीड हुने समयमा दुर्घटनाको जोखिम रहने गरेको बताइएको छ । नयाँ पुल निर्माण भएपछि भक्तजनलाई सहजता हुने छ ।

 

Share: