
काठमान्डौ/अमेरिकाको टेक्सास राज्यमा एक कारले मानिसहरुको समूहलाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ । घरबारविहीन तथा आप्रवासीहरुको आश्रयस्थल नजिक रहेको बस स्टपमा मानिसहरुको एक समूहलाई कारले ठक्कर दिएको प्रहरी अधिकारीहरुले जनाएका छन्। उक्त घटनामा ६ जना घाइते भएका छन् । केहीको अवस्था चिन्ताजनक रहेको जानकारी दिइएको छ ।
मेक्सिकोको सीमा नजिकैको ब्राउन्सभिल सहरमा बिहान साढे ८ बजेको समयमा उक्त घटना भएको बीबीसीले उल्लेख गरेको छ । बस कुरिरहेका करिब २० जनाको समूहलाई कारले ठक्कर दिएको थियो । घटनाका पीडितहरु भेनेजुएलाका नागरिक रहेको बताइएको छ।
उक्त कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ब्राउन्सभिल प्रहरीले घटना नियोजित हो वा होइन भन्नेबारे स्पष्ट नभएको जनाएको छ । यसअघि अमेरिकी सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै घटना अन्जानमा नभइ जानीजानी भएको उल्लेख गरेका थिए ।