छालाको स्याहार कसरी गर्ने, कस्तो खाना खाने, के खाने ?

241
0
Share:

काठमान्डौ/छाला मानव शरीरको अंगमध्ये एक महत्वपूर्ण अंग हो । जसले हाम्रो शरीरको सुरक्षा गरिरहेको हुन्छ । छालाले हाम्रो शरीरको बाहिरी आकृतिलाई सुन्दर देखिन मद्धत गर्नुको साथै भित्रि अंगमा लाग्ने घाउ, चोट पटकबाट बचाउने काम गर्दछ । हाल देशभर गर्मी बढेको छ । यो मौसमममा हामीले छालाको विशेष ख्याल राख्नुपर्नेहुन्छ । यो मौसममा छालाको सुरक्षा चुनौतिपूर्ण हुन्छ । अर्थात गर्मी मौसमका कारण बढ्दो धुँवाधुलोलगायतले छालामा विभिन्न संक्रमण ल्याउँछ । साथै बढि एलर्जी हुने भएकाले पनि छालाको रेखदेख गर्नु आवश्यक मानिन्छ ।

 

व्यस्त सहरी जीवनशैलीले मानिसहरूमा तनाव एवंम् थकान बढाइरहेको छ । यसले छालालाई समेत असर गरिरहेको हुन्छ । तनावको प्रत्यक्ष असर अनुहारमा देखिन्छ जसले डन्डिफोर र छाला चाउरी हुने जस्ता समस्या देखिन्छन् । यो मौसममा चल्ने हावाहुरीले धुलो उडाएर ल्याउने भएकोले यसको प्रत्यक्ष असर छालामा पर्छ । यस अवस्थामा छाला सुक्खा हुने हुन्छ ।

 

गर्मी सिजनमा चर्को घाम र धुलोले अन्य भागका छालामा समेत एलर्जी हुन सक्छ । यस्ता एलर्जी निकै हानिकारक हुन्छ । एलर्जी भएमा चिकित्सकसँग परामर्श नगरी जथाभावी औषधि प्रयोग गर्नुहुँदैन । जथाभावी औषधि प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर समस्या आउन सक्छ । गर्मीमा चर्को घाम र धुलोधूँवाले अनुहार तथा हातखुट्टाको छालालाई असर गर्छ । घामले छालालाई कालो बनाउँछ । छालाको पानी सोस्छ र रुखो बनाउँछ । छाला फुस्रो हुने, रुखो हुने समस्या पनि बढ्छ ।

 

मध्यान्हको चर्को घाममा घरबाहिर हिँड्ने अझ मोटरसाइकल, स्कुटरमा कुद्नेहरुले अनुहारको सुरक्षा गर्नुपछ। मोटरसाइकल एवंंम् स्कुटरमा धुलो, धूँवाले अझ बढी असर गर्छ । त्यसैले गर्मीमा अनुहारलाई घाम, धुलो, धूँवा र सुख्खा हुनबाट जोगाउन विभिन्न उपायहरु अपनाउनुपर्छ ।

छाला जोगाउन के गर्ने, के खाने ?

पुरा शरीर ढाक्ने लुगा लगाउनुहोस्: सर्वप्रथम गर्मीमा घर बाहिर हिँड्ने हो भने शरीरको पुरा भाग ढाक्ने पहिरन लगाउनुपर्छ । हात, खुट्टा लगयातका अधिकांश भाग कपडाले छोप्न पाइयो भने घामले छालामा असर पुर्याउँदैन ।

 

माक्स प्रयोग गर्नुहोस्: अनुहारमा माक्स लगाउनुहोस् । माक्सले तपाईको आधाभन्दा बढी अनुहारको हिस्सा ढाकिदिन्छ । यसले धूलोधुँवालाई फोक्सोमा जान मात्र रोक्दैन, हाम्रो शरीरको छालालाई रक्षा पनि गर्नुका साथै घाम र धुलो धूँवाको असरबाट पनि बचाउँछ ।

 

सन ग्लास लगाउनुहोस्: गर्मीमा सन ग्लास लगाउनु निकै उपयोगी हुन्छ । यसले आँखाको सुरक्षा गर्छ । एकातिर माक्स र अर्कोतिर सन ग्लास लगाएपछि अनुहारका अधिकांश छाला घामको प्रभावमा आउँदैन । यसले धुलो र धूँवावाट पनि जोगाउँछ ।

 

छाता ओड्नुहोस्: यो सिजनमा छाता बहुउपयोगी हुन्छ । यसले गर्मीमा सितलता प्रदान गर्छ । झरीबाट पनि जोगाउँछ । घामको किरणबाट बच्नका लागि छाता उपयोगी हुन्छ । घरबाहिर हिँडडुल गर्दा छाता ओड्नुभयो भने अनुहारमा घामको सोझो असर पर्दैन ।

 

दिन दिनै नुहाउनुहोस्: हुन त काठमाडौं जस्तो शहरी क्षेत्रमा पानीको अभाव छ । कतिपयलाई दिन दिनै नुहाउन अनुकुलता नमिल्न सक्छ । तर, गर्मीमा नुहाउनु अनिवार्य छ । अझ चिसो पानीले । यसले शरीरलाई फुर्तिलो राख्न मद्धत गर्छ । गर्मीमा पसिनाको दुर्घन्ध हटाउन पनि नुहाउनुपर्छ । दिन दिनै नुहाएमा छालामा हुने को संक्रमणबाट सजिलै बच्न सकिन्छ ।

 

सन प्रोटेक्सन क्रिम प्रयोग गर्नुहोस्: गर्मीमा घरबाहिर निस्कनुअघि सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ । यसले छालाको सौन्दर्य बढाउनुका साथै घामबाट जोगाउँछ ।

छाला स्वस्थ बनाउन यि पाँच खानेकुरामा विशेष ध्यान दिनुहोस्:

रातो मासु र अल्कोहल: रातो मासुले मानव स्वास्थ्यमा असर गर्ने चिकित्सकहरु बताउँछन् । अल्कोहल त स्वास्थ्यका लागि हानिकारक नै हो । रातो मासु र अल्कोहलमा हुने स्याचुरेटेड फ्याटका कारण छाला तथा मुटुमा समस्या हुन्छ ।

चिल्लो तथा तारेको परिकार: धेरै तेल हालेको, चिल्लो तथा तारेको परिकार पनि छालाका लागि अनुपयोगी हो । धेरै तेलमा भुटेको खाद्य पदार्थ खानाले छालामा प्रत्यक्ष असर पार्छ । छाला तैलीय हुनुका साथै अनुहारमा अनावश्यक डन्डिफोर आउन थाल्छ । त्यसैले चिल्लो खानेकुरा खानुहुँदैन ।

ट्रान्स फ्याटयुक्त खानेकुरा: रमाइलो आदान प्रदानका बेला काटिने केकलगायतका परिकार सेवन पनि छालाका लागि हानीकारक मानिन्छ । केक, पेस्ट्रीज, कुकीज, क्रीमले बनेका परिकार वा क्रिमजन्य बिस्कुट आदिमा वनस्पति घ्यूको प्रयोग गर्ने गरिन्छ । जसले गर्दा यसमा ट्रान्स फ्याटको मात्रा अत्यधिक हुन्छ । यिनीहरुको सेवनबाट छाला र मुटुमा समस्या हुन्छ ।

बढी कार्बोहाइड्रेट: कार्बोहाइड्रेट जन्य खानेकुरा पनि छालाका लागि घातक हुन्छ । सेतो चामल, सेतो चिनी, सेतो पाउरोटी, सोडा, तयारी जुस, मैदाले बनेका परिकार जस्ता खानेकुरा खानु तपाईंको स्वास्थ्यको लागि हानि कारक हुन सक्छ । यसले छालाको चमकलाई कम गर्छ ।

दुग्धजन्य परिकार: दुध र दुग्धजन्य परिकार स्वास्थ्यका हिसाबले महत्वपूर्ण भएपनि छालाका लागि त्यत्ति लाभदायी मानिदैन । त्यसमा पनि मिसावट भएको दुध र दुग्धजन्य परिकारले छालासहित स्वास्थ्यमा गम्भीर असर गर्दछ । त्यसैले दुग्धजन्य परिकार सेवन गर्नु छालाको लागि उत्तम मानिदैन ।

Share: