‘उपभोक्ताले कम खर्च गर्दा जर्मनी मन्दीको चपेटामा’

144
0
Share:

काठमान्डौ/गत वर्ष ऊर्जाको मूल्यमा आएको नकारात्मक परिवर्तनको कारण उपभोक्ताको खर्चमा असर परेपछि जर्मनी मन्दीको चपेटामा परेको सीएनएनले बिहीबार जनाएको छ ।

 

सन् २०२२ को अन्त्यमा ०.५ प्रतिशतले सङ्कुचन आएको युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रको उत्पादन यस वर्षको पहिलो तीन महिनामा ०।३ प्रतिशतले घटेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

 

सङ्घीय तथ्याङ्क कार्यालयले अघिल्लो त्रैमासिकको तुलनामा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा शून्य वृद्धिको अघिल्लो अनुमानलाई घटाएको छ ।

 

सीएनएनका अनुसार मन्दीलाई लगातार दुई त्रैमासिक घट्दो उत्पादनको रूपमा परिभाषित गरिएको छ । कार्यालयले भनेको छ, ‘उच्च मूल्य वृद्धिको निरन्तरताले वर्षको सुरुमा जर्मन अर्थव्यवस्थामा बोझ परेको छ । यो विशेष गरी परिवारको अन्तिम उपभोग खर्चमा प्रतिबिम्बित भएको छ । सन् २०२३ को पहिलो त्रैमासिकमा उपभोग खर्चमा १.२ प्रतिशतले घटेको थियो ।

 

प्यान्थियन म्याक्रोइकोनोमिक्सका प्रमुख युरो क्षेत्र अर्थशास्त्री क्लज भिस्टेसनले पहिलो त्रैमासिकमा उपभोक्ताले गरेको खर्च ‘ऊर्जाको मूल्यमा आएको झट्का’ले खुम्चिएको बताउनुभयो । गत वर्षको फेब्रुअरीमा रूसले युक्रेनमाथि गरेको आक्रमणपछि युरोपेली ऊर्जाको मूल्य वृद्धि भएको थियो ।

 

सिएनएनका अनुसार त्यसपछि मस्कोले युरोपेली देशहरूमा ग्याँस आपूर्तिमा अवरोध पुर्यायो, जसले गर्दा जर्मनीले आपतकालीन अवस्था घोषणा गरेको छ ।

Share: