गर्मी बढ्यो, लुबाट कसरी बच्ने ?

Share:

काठमान्डौ/पछिल्लो केही दिनयता देशभर गर्मी बढेको छ । अत्यधिक गर्मी बढेपछि मधेश प्रदेश लगायत देशभरका जनजीवन कष्टकर बन्दै गएको छ । देशका तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अपिल गरिसकेको छ । महाशाखाले हिजो तातो हावा तथा लूसम्बन्धी विशेष बुलेटिन जारी गर्दै लुबाट बच्न सम्बन्धीत सबैलाई आग्रह गरेको हो ।

 

गर्मी मौसम वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा चल्न थाल्छ, जसलाई ‘लू’ भनिन्छ । यो समयमा तापक्रम बढेर ४० देखि ४२ सेन्टिग्रेडसम्म पुग्छ । सामान्य भाषामा ‘लू’ लाग्नुलाई गर्मी मौसमको रोग भनिन्छ । गर्मीको समयमा तराईमा हिँड्दा, काम गर्दा, खेल्दा तातो हावा तथा घामको असरले बेहोस् हुनेहुन्छ । शरीरको तापक्रम बढ्दै जाने र बेहोस हुने अवस्थालाई नै लु लाग्ने भनिन्छ ।

‘लू’ कसरी लाग्छ ?

मानव शरीरको बाहिरको तापक्रम जति सुकै परिवर्तित भएतापनि शरीर भित्रको तापक्रम सधैं ३७ डिग्री सेन्टिग्रेड नै भइरहन्छ । गर्मीमा जब हामी लापरवाहीपूर्वक बाहिर निस्कन्छौं, तब चर्को घाम र तातो हावाले शरीरको बाहिरी छालालाई अत्यधिक तातो बनाइदिन्छ । जसका कारण हामी ‘लू’बाट पिडित हुन्छौँ । अत्यधिक गर्मीका कारण रक्तनलीहर फराकिलो हुन्छ । यसले गर्दा रक्तसञ्चार प्रकृया बढ्छ र शरीरभित्रको पानी पसिनाको रुपमा बाहिर निस्कन्छ । रक्तसञ्चार प्रक्रिया बढ्नु र शरीरको रगत तातो हुनाले शरीर भित्रको तापक्रम पनि बढ्छ, जसलाई ‘लू’ लाग्नु भनिन्छ ।

 

‘लू’ लाग्नुको प्रमुख कारण शरीरमा नुन र पानीको कमी हुनु हो । पसिनाको रुपमा नुन र पानीको ठूलो मात्रा शरीरबाट निस्कन्छ र रगतको तापक्रम बढाइदिन्छ । टाउको भारी भएको महसुस हुनु, नाडीको गति बढ्नु, रगतको गति पनि तीव्र हुन थाल्नु यसका लक्षणहरू हुन् । त्यस्तै सास गति पनि अनियमित हुनु, ज्वरो बढ्नु, हातको हत्केला र खुट्टाको पैताला पोल्नु, आँखा पोल्नु जस्ता समस्याहरू देखिन्छन् । जसका कारण बिरामी बेहोस हुन्छ र कसै-कसैको यही कारण मृत्यु पनि हुन्छ ।

के-के हुन ‘लू’का लक्षणहरू :

१ बारम्बार प्यास लागिरहने

२ अनुहार रातो हुनुका साथै टाउको दुख्ने

३ अत्याधिक तापक्रमका कारण बेहोस हुने

४ शरीरको तापक्रम १०१ देखि १०४ सम्म हुने

५ बिरामीमा छटपटी र उदासीनताको भाव देखिने

६ ज्वरो आउने

७ शरिरबाट पसिना ननिस्किने

८ मुटुको चाल तिव्र हुने

९ छाला सुख्खा हुने

लू’ लागेमा के गर्ने ?

लूको प्रथम उपचार भनेको शरीरको तापक्रम कम गर्नु हो । ‘लू’बाट पीडित व्यक्तिलाई शीतल, स्वच्छ हावा र वातावरण चिसो भएको राम्रो ठाउँमा सुताउनुपर्छ । यदि ‘लू’ लाग्यो भने नजिकको चिकित्सकबाट तुरुन्त प्राथमिक उपचार गराउनुपर्छ, जसका कारण समयमा नै सबै कुराको नियन्त्रण हुन्छ ।

 

‘लू’ लागेको बिरामीले आफ्नो जीवन रक्षाका लागि नुन,चिनी,कागती र पानी समय–समयमा पिइरहनुपर्छ । ‘लू’ लागेपछि पातलो तथा नरम कपडा पानीमा भिजाएर बिरामीको निधार, हात, खुट्टामा दल्नुपर्छ । यसका साथै निधारमा बरफको पट्टी राख्नुपर्छ । ‘लू’ लागेमा पाकेको तित्री (इमली) को गुदीलाई हत्केला र खुट्टाको पैतालामा लगाउनाले ‘लू’को असर कम हुन्छ । इमली पानी पिउनाले ‘लू’बाट तुरुन्तै राहत प्राप्त हुन्छ । दही र मौसमी फलफुल जस्तै सुन्तला, अंगुर, खरबुजा र मौसमको रस लू ग्रस्त बिरामीलाई पिउनुपर्छ ।

‘लू’बाट कसरी जोगिने

घर बाहिर निस्कनै परे पातलोे कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउनाले लुबाट बच्न सकिन्छ ।

Share: