
काठमान्डौ/नेमकिपाका सांसद प्रेम सुवालले आन्दोलनका बेला फोन गरेर बोलाउने तर सिंहदरबार प्रवेश गर्ने बेलामा भने ३ प्रतिशत मत पुगेन भनेर बेवास्ता गरेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा मन्त्रालयहरुको बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद सुवालले उक्त कटाक्ष गरेका हुन्।
प्रतिनिधि सभामा समानुपातिक निर्वाचनमा ३ प्रतिशत र प्रदेश सभामा १.५ प्रतिशत मत प्राप्त नगरेकालाई राष्ट्रिय तथा प्रदेश दलको मान्यता नहुने प्रवाधान छ। सांसद सुवालले सोही विषय उल्लेख गरेका हुन्।
‘प्रजातन्त्रका लागि लड्दा चाहिँ फोन गरेर ७ दलमा, ४ दलमा आउनुपर्यो, सडकमा यहाँ मान्छे निस्केन भनेर फोन गर्ने अनि यहाँ सिंहदरबार कब्जा गर्ने बेलामा तपाईंहरुको ३ प्रतिशत मत छैन के काम भन्ने? यो हो मित्रलाई घात गर्ने भनेको,’ सांसद सुवालले बताएका हुन् ।