मासिक १ लाख २० हजारका दरले पासपोर्ट वितरण भइरहेको छ : परराष्ट्रमन्त्री साउद

122
0
Share:

काठमान्डौ/परराष्ट्रमन्त्री एन.पी साउदले राहदानी अत्याआवश्कीय सेवा भएपनि अन्तर्राष्ट्रिय मापदण्ड कार्यविधि भित्र रहेर सुरक्षित रुपमा गर्नु पर्ने भएका कारण प्रक्रियामा केही समय लाग्ने गरेको बताउनुभयो ।

 

प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री साउदले अन्तर्राष्ट्रिय मापदण्ड विधि र प्रक्रियाभित्र रहेर आवश्यकताका आधारमा सामान्य र अतिरिक्त शुल्क लिएर २ तरिकाबाट राहदानी दिने व्यवस्था गरिरहेको बताउनुभयो ।

 

हाल परराष्ट्र मन्त्रालयमा २ सय ८३ जना मात्रै कर्मचारी रहेको र त्यो पर्याप्त नभएकाले अर्थ मन्त्रालयमा ओ एण्ड एम सर्वेका लागि सहमति लिएको भएपनि कर्मचारी सङ्ख्या नबढ्ने गरी ओ एण्ड एम सर्वे गर्नु भनेपछि समस्या सिर्जना भइरहेको पनि मन्त्री साउदले जानकारी दिनुभयो ।

 

मन्त्री साउदले मासिक औसतमा १ लाख २० हजारका दरले पासपोर्ट वितरण भइरहेको र छापिएको २० लाखप्रति पासपोर्ट सकिने अवस्थामा पुग्न लागेकाले थप छपाइका लागि सहयोग गर्न समितिलाई आग्रह समेत गर्नुभयो ।

 

बैठकमा समितिका सदस्यहरुले नागरिकले सहज रुपमा पासपोर्ट पाउन नसकिरहेको, पासपोर्ट छपाई र वितरण पारदर्शीता कायम हुन नसकिरहेको, राहदानी वितरणमा राज्य स्तरबाट हेल्प डेस्क राखेर बिचौलियाको अन्त्य गर्नु पर्ने, आवश्यक कर्मचारीको व्यवस्थापन गर्न ढिलाइ गर्न नहुने लगायतका विषय उठाउनु भएको थियो ।

Share: