Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
खानी गाउँमा घरैपिच्छे बाख्रा पालन – Lekhanpeeth

खानी गाउँमा घरैपिच्छे बाख्रा पालन

238
0
Share:

काठमान्डौ/दुई दशक खाडी मुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका-१ खानी गाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रा पालन थाले । उनले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गरे। बुढाथोकी पाँच वर्षदेखि बाख्रा पालनमा रमाएका छन् । सुरुआतमा १७ स्थानीय र चार अस्ट्रेलियन उन्नत जातको बोयर बाख्राबाट व्यवसाय सुरु गरेका उनले अहिले एक सय २० बाख्रा पालेका छन्।

 

बुढाथोकीले मात्रै होइन २६ परिवारको बसोबास रहेको खानी गाउँका सबै व्यावसायिकरुपमा बाख्रा पालनमा होमिएका छन् । गाउँको नाम नै खानी गाउँबाट ‘बाख्रा गाउँ’मा परिवर्तन भएको छ । हरेकका घरमा बाख्राको व्यवस्थित खोर बनाइएको छ । तीन वर्षयता बुढाथोकीले बाख्रा र बोका बिक्री गरेर वार्षिक रु १० लाख आम्दानी गरेको बताए ।

 

 

‘विदेशबाट फर्किएपछि रु।६ लाखको लगानीमा बुढाथोकी कृषि तथा पशुपन्छी फार्म खोले’, उनले भने । बाख्रा पालन मात्रै होइन बुढाथोकीले अहिले व्यावसायिक तरकारी खेतीसमेत गर्दै आएका छन् । उनले सुन्तलाका तीन सय बिरुवासमेत लगाएका छन् । ‘वार्षिक रु।१५ लाख आम्दानी गर्ने लक्ष्य छ’, उनले भने ।

 

विदेशमा सिकेको सीपको सदुपयोग गर्दै बाख्रा पालन व्यवसाय र कृषि उद्यम थालेको ४८ वर्षीय बुढाथोकीले बताए । ‘मेरै बाटो पछ्याएर गाउँका अरूले बाख्रा पालन थालेका हुन्, तरकारी खेती र बाख्रा पालनले गाउँको परिचय नै फेरिएको छ’, उनले भने । सिकेको सीप समुदायमा हस्तान्तरण गर्दा गाउँमा परिवर्तन आएको उनको अनुभव छ ।

 

बुढाथोकीको सिको गरी गुप्तेश्वर कृषक समूह नै गठन गरेर समुदाय नै बाख्रा पालनमा लागेको छ । ‘चरनको समस्या छैन’, बाख्रा पालक कृषक राजन राम्जालीले भने । विदेशबाट फर्किएका युवाको सक्रियतामा अनुदानसहितका कार्यक्रममा समेत सिङ्गो गाउँमा वितरण गर्ने, समूह बनाएर सीप हस्तान्तरणसहितका रचनात्मक कार्यबाट खानी गाउँमा बाख्रा पालन, तरकारी खेती तथा मौरी पालन गरिँदै आएको छ ।

 

विगतमा सामान्य खर्चको जोहो गर्न स्थानीय जातका बाख्रा पालेकाले अहिले उन्नत जातका बाख्रा पालनमा जुटेका बाख्रा पालक कृषकको दैनिकी दिउँसो जङ्गलमा बाख्रा चराउने, ल्याउने, खोरमा राख्ने गरेरै बित्छ । ‘मिलेर बाख्रा पालन गरेका छौँ’, राम्जालीले भने ।

 

बाख्रा पालन, कृषिका साथै सुन्तला खेतीको समेत उच्च सम्भावना रहेकाले अबको पाँच वर्षभित्र गाउँमा बाख्रा पालन, तरकारी र फलफूल खेतीबाट लाखौँ भित्रिने स्थानीय बताउँछन् । खानी गाउँका कृषकले खेर गएको जमिनमा सुन्तला खेतीसहित कृषि खेती नहुने जमिनमा डालेघाँस, बकाइनो, पाखुरी, निवारो, राइखनियो, नेपिएर, किम्बुलगायत घाँस लगाएका छन् ।

 

मङ्गला गाउँपालिकाले बाख्रा पकेट कार्यक्रममार्फत अनुदान सहयोग गरेपछि थप सहज भएको छ । गुप्तेश्वर कृषक समूहमा हाल ३४ कृषक आबद्ध छन् । उनीहरूले ६ सयभन्दा बढी बोका, बाख्रा र पाठापाठी पालेका छन् । गाउँपालिकाले उनीहरूलाई रु।२२ लाख अनुदानसमेत दिएको गाउँपालिकाका प्रवक्ता एवं कुहुँका वडाध्यक्ष एकजित रोकाले बताए । मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकालाई कृषि र पशुपालनमा नमुना गाउँ बनाउने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाएको बताए ।

Share: