
काठमान्डौ/श्रीलङ्काले अपराजित रहँदै विश्वकप छनोट क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । यसअघि नै विश्वकपमा स्थान बनाइसकेका शीर्ष २ टिमबीच भएको फाइनलमा श्रीलङ्काले नेदरल्याण्ड्सलाई १२८ रनले हराउँदै उपाधि जितेको हो ।
जिम्बाव्वेको हरारेमा पहिला ब्याटिङ गरेको श्रीलङ्काले ४७।५ ओभरमा अल आउट हुनुअघि २३३ रन बनाएको थियो । श्रीलङ्काका सहान अरचिगेले ५७ तथा कुशल मेन्डिसले ४३ रन बनाए । जितका लागि २३४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स श्रीलङ्काली बलरसामु निरीह साबित हुँदै २३।३ ओभरमा १०५ रनमा अल आउट भयो ।
नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओडोडले ३३ तथा लोगन भान बीकले नट आउट २० रन र विक्रमजित सिंहले १३ रन बनाउनु बाहेक अरु ब्याटरले दोहरो अङ्कमा रन बनाउन सकेनन् । श्रीलङ्काका महेश थिकसनाले ४ तथा दिल्सान मधुशंकाले ३ र वानिन्दु हसरंगाले २ विकेट लिए ।