
काठमान्डौ/यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भएलगतै सार्वजनिक यातायातको भाडा घटेको हो ।
स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको छ ।
‘घटाएको भाडादर आजदेखि नै लागु हुनेछ, त्यसको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने ‘पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने वैज्ञानिक भाडादर कायम सम्बन्धी कार्यविधिको व्यवस्था छ । त्यही कार्यविधिमा रहेर भाडा समायोजन गरिएको छ ।’
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु हुनासाथ सार्वजनिक र मालवाहक सवारी साधनको भाडा दर समायोजन गर्न मन्त्री ज्वालाले आइतबार नै मातहतको निकायलाई निर्देशन दिएका थिए ।