
काठमान्डौ/नाबालिगमाथि अनलाइनमार्फत यौन हिंसा गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-९ बस्ने १९ वर्षीय समिर तामाङ र सोही ठाउँका १९ वर्षीय सुरेश तामाङ छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोका प्रहरी उपरीक्षक ९एसपी० पशुपतिकुमार रायका अनुसार नाबालिगलाई उनीहरूले सामाजिक सञ्जालमार्फत मानसिक तनाव मात्रै नभई यौन हिंसा समेत गरेका थिए । पक्राउ परेका समिर तामाङले नाबालिगलाई फेसबुकमा साथी बनाएका थिए । कुराकानी गर्नेक्रममा उनले बालिकालाई प्रेम गर्ने बहानामा अडिओ र भिडिओ कल गर्न थालेका थिए ।
तर पछि उनले बालिकालाई मानसिक तनाव दिन थालेको एसपी रायले बताए । तनाव दिन थालेपछि नाबालिकाले उनलाई ब्लक समेत गरेका थिए । समिरले अन्य व्यक्तिको अश्लिल फोटो र भिडिओमा पीडित नाबालिकाको अनुहार जोडेर सामाजिक सञ्जालमा सार्वजनिक समेत गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै उनी र सुरेशले ती बालिकालाई एक दिन कोठामा समेत बोलाएका थिए । कोठामा बोलाएर सुरेशले बालिकामाथि यौन हिंसा गरेको एसपी रायले जानकारी दिए । उनीहरूमाथि विद्युतीय कारोबार ऐन २०६३ र यौन हिंसा कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट पाँच-पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।