
काठमान्डौ/जिल्ला प्रशासन कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को र्यापिड एक्सन टिम (र्याट)ले अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडक खुलाउन कुनै सहयोग नगरेको बताएको छ । प्रशासनले आज एक सूचना गरेर मुग्लिङ–नारायणगढ सडकखण्डको कालिखोलासहित कुनै पनि ठाउँमा सडक खुलाउन कसैको सहयोग नलिएको स्पष्ट पारेको हो ।
मंगलबार कालिखोलामा लेदोसहित खसेको पहिरोलाई सुरक्षा निकाय र सडक विभागसहितको टोलीले पन्छाएको प्रशासनको भनाइ छ । प्रशासनले सडक सञ्चालनका लागि कुनै अमूक दल तथा सोअन्तर्गतका संगठनको सहयोग नलिइएको र लिन स्वीकृति नदिइएको पनि बताए ।
बरु प्रशासनले रास्वपाका कार्यकर्ताले सञ्चारको साधन वाकीटकी प्रयोग गरेको देखिएकाले छानबिन गर्न प्रहरीलाई निर्देशन दिइसकिएको जनाएको छ । प्रशासनले विपद्का घटनाको राहत, उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायसहित राज्यका अंगहरू सक्षम रहेको समेत बताएको छ ।