
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टीको र्यापिड एक्सन टिम (र्याट)लाई सकारका स्थानीय निकायसँग अनुमति लिएर समन्वयमा काम गर्न निर्देशन दिएको छ ।
बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै रास्वपा प्रवक्तासमेत रहेका महामन्त्री मुकुल ढकालले नागरिकका समस्या समाधान गर्न सहरीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि निर्देशन दिएका हुन् ।
यसअघि आजै जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन-नारायणगढ सडकको जाम हटाउन सरकारी संयन्त्रले काम गरिरहेकाले रास्वपाको र्याट नचाहिने बताएको थियो । मंगलबार कालीखोला नजिकै लेदो खसेर नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएपछि जाममा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न भन्दै राष्ट्रिय रास्वपाले खटाएको आरएटी नाम दिइएको एउटा समूह परिचालन भएको थियो ।
जाम खुलाउन सुन्तला रङ्गको ज्याकेटमा आर.ए.टी लेखेर वाकीटकी संचारसहितका युवाहरू खटेको भनेर सामाजिक सञ्जालमा फोटो सहितका पोस्ट आएको भन्दै प्रशासन कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ ।