
काठमान्डौ/नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि सघाउन आफू तयार रहेको बताएका छन् । मंगलबार दाङको घोराहीमा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष महराले सुन प्रकरणको अनुसन्धानका लागि सरकारलाई सघाउन तयार रहेको बताएका हुन् ।
‘सुन तस्करी प्रकरणमा मेरो नाम अनावश्यक रूपमा जोडिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानबिन गरिरहेको छ,’ उनले भने, ‘अनुसन्धानमा सघाउन म तयार छु ।’
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा र उनका छोरा राहुलको नाम मुछिएको छ । यसअघि राहुलले फेसबुकमा स्टाटस लेख्दै अनुसन्धानमा सघाउन आफूहरू तयार रहेको बताएका थिए ।
उपाध्यक्ष महराले प्रहरीले सोधपुछका लागि बोलाए आफू उपस्थित हुन तयार रहेको पनि बताए । ‘सुन प्रकरणको अनुसन्धानका लागि मलाई सोधपुछ गर्न बोलाएर म आफैँ उपस्थित हुन्छु । तर, मलाई बोलाइएको छैन, मैले के गर्ने ?,’ उनले भने ।