
काठमान्डौ/नेपाली कथानक चलचित्र ‘पशुपतिप्रसाद–२ : भष्मे डन’को टिजर सार्वजनिक भएको छ । अभिनेता विपीन कार्कीको जन्मदिनको अवसर पारेर आज निर्माण पक्षले टिजर सार्वजनिक गरेको हो । टिजरमा अभिनेता विपीनको क्यारेक्टरलाई मात्रै प्रस्तुत गरिएको छ । जसमा उसको फेरिएको रुप चित्रित छ । सुनको दाँत लगाउँदै गरेका विपीनलाई टिजरमा देख्न सकिन्छ ।
‘पशुपतिप्रसाद’मा पशुपतिप्रसादको मृत्युपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा यो सिनेमा बनेको छ । उसको जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथा नै यो सिरिजको मुख्य कथानक हो ।
दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको ‘पशुपतिप्रसाद–२ : भष्मे डन’मा विपीनसँगै स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिश्री थापा, सजन थापा मगर, विभु पौडेललगायतको अभिनय रहेको छ । सिनेमाको एउटा गीतमा अभिनेत्री आँचल शर्मा पनि विशेष भूमिकामा देखिने छन् ।
टुकी आर्टस्को ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डीओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहेको छ । यही दसैंको फूलपातीबाट सिनेमा प्रदर्शनमा आउनेछ ।