Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
महिला टी-२० सिरिज : नेपालद्वारा जापान ६७ रनले पराजित – Lekhanpeeth

महिला टी-२० सिरिज : नेपालद्वारा जापान ६७ रनले पराजित

Share:

काठमान्डौ/चार देश सम्मिलित महिला टी-२० सिरिज अन्तर्गत आजको खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ। हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि १ सय १४ रनको लक्ष्य दिएको थियो। जापानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ४६ रन बनायो। यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्दै नेपालले चार विकेट गुमाएर एक सय १३ रन बनाएको थियो। नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मद्दतमा ३८ रन बनाइन्।

 

यस्तै, कप्तान इन्दू बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिइन्। काजल श्रेष्ठले अविजित रहँदै सात बलमा तीन चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाइन्। बलिङतर्फ जापानकी एलिना कुशुदा नाइरनले दुई तथा मेग ओगावा र आयुमी फुजिकावाले एक एक विकेट लिइन्।

 

एक सय १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जापानका लागि मेग ओगावाले २९ बलमा दुई चौकाको मद्दतमा १७ रन बनाइन्। यस्तै, सेइका सुमीले १६ बल खेल्दै एक चौका प्रहार गरी १३ रनको योगदान दिइन् । हिनासे गोटोले तीन रन बनाइन्। बलिङतर्फ नेपालकी अश्मिना कर्माचार्यले चार, सङ्गीता राईले तीन तथा पूजा महतो दुई विकेट लिइन्।

 

नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन्। नेपाल यसअघि पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो। तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो।

 

नेपालले सबै विकेट गुमाउँदै मात्र ८८ रन बनाउन सक्यो। यस्तै, बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित नौ विकेटले पराजित भएको थियो। नेपालले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सबै विकेट गुमाएर मात्र ५६ रन बनाएको थियो। हङकङले ५७ रनको विजयी लक्ष्य नौ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो।

Share: