शिक्षामा गरिएको लगानीअनुसार प्रतिफल प्राप्त हुनुपर्छ : राष्ट्रपति पौडेल

131
0
Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाविनाको समाजको कल्पना पनि गर्न नसकिने भएकाले लगानीअनुसारको प्रतिफल प्राप्त हुनुपर्ने बताउनुभएको छ । शैक्षिक विकासमा सरकारले गरेको लगानीअनुसार प्रतिफल प्राप्तिका लागि विद्यार्थीहरू केन्द्रित हुनुपर्नेमा उहाँको जोड थियो ।

त्रिभुवन विश्वविद्यालयको आज भएको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षामा नेपाल सरकारको लगानी पर्याप्त नभए पनि सक्दो प्रयास देखिएकाले मुलुकको भाग्य र भविष्य जनशक्तिको उत्पादनसँग जोडिएको बताए ।

 

“राज्यको लगानी भन्नुको तात्पर्य जनताकै लगानी हो । यसर्थ यहाँहरूको राष्ट्र र जनताप्रति केही दायित्व र केही कर्तव्य छ । यो दायित्व र कर्तव्य निर्वाह गर्ने कुरामा यहाँहरू चुक्नुहुने छैन भन्नेमा म आशावादी छु”, राष्ट्रपति पौडेलले भन्नुभयो, “तपाईंहरूले प्राप्त गर्नुभएको ज्ञान, सीप र प्रविधि राष्ट्र निर्माणका लागि उपयोगी हुनेछ र एउटा सक्षम, सबल तथा समृद्ध राष्ट्र निर्माणका लागि दीक्षित हुने तपाईं छात्रछात्राको भूमिका महत्त्वपूर्ण हुनेमा म विश्वस्त छु ।”

 

राष्ट्रपति पौडेलले स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा मुलुकलाई अघि बढाउन नेपालीहरू हिँडिरहेको बताउँदै देश परिवर्तनको बाटोमा अघि बढ्दाको सङ्क्रमणकालीन चुनौती र बिघ्नबाधाको सामना पनि नेपालीले गर्न परिरहेको बताए ।

 

“शिक्षित हुनेलाई दीक्षित गर्ने विद्वान र विदुषीहरूको यस जमघटमा राष्ट्रहितप्रतिको सुमार्ग निर्धारण होस् । आज हामी हाम्रो राष्ट्रलाई स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा अघि बढाउनका लागि हिँडेका छौँ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “देश परिवर्तनको बाटोमा अघि बढ्दाका सङ्क्रमणकालीन चुनौती र बिघ्नबाधाको सामना पनि तपाईं हामीहरूले नै गर्नुपरेको छ ।”

 

राष्ट्रपति पौडेलले समावेशी विशेषतायुक्त अहिलेको संविधानले सामाजिक एकता र समानता नेपाली समाजमा लागू गर्ने क्रममा रहेको बताउनुभयो । उहाँले भौगोलिक, सांस्कृतिक र जातीय विविधतायुक्त नेपाली समाजको एकताका लागि अहिलेको संविधान र यो व्यवस्था अत्यन्तै महत्त्वपूर्ण पक्ष हो भनेर हामीले बुझ्न जरुरी रहेको स्पष्ट पार्नुभयो ।

 

राष्ट्रपति पौडेलले भन्नुभयो, “तपाईंहरूलाई पनि जानकारी भएकै हो कि ‘लिग अफ नेसन्स’को असफलतापछि संयुक्त राष्ट्रसङ्घको जन्म भयो । द्वितीय विश्वयुद्धको समाप्तिपश्चात् व्यवहारमा आएको संयुक्त राष्ट्रसङ्घले आज ७८ वर्ष पूरा गरेको छ । विश्वमा शान्ति स्थापना गर्ने र साना मुलुकका समस्यालाई मुखरित गर्ने यस संस्थाको योगदानलाई हामी कति पनि अवमूल्यन गर्न सक्दैनौँ । तथापी यताका दशक अस्थिरता र द्वन्द्वउन्मुख देखिन्छन् । यस्तो सांसारिक पृष्ठभूमिमा हाम्रो देशमा जनताको दुःख र त्यागपश्चात् जनता सार्वभौम हुने लोकतान्त्रिक व्यवस्था स्थापना भएको छ । समावेशी विशेषतायुक्त यस व्यवस्था र अहिलेको संविधानले सामाजिक एकता र समानता नेपाली समाजमा लागू गर्ने क्रममा रहेको छ ।”

Share: