
काठमान्डौ/हाथवे, फर्स्ट माइक्रोफाइनान्स र तारागाउँ रिजेन्सीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ तीन वटै कम्पनीले बिहीबार बुकक्लोज गर्दैछन् । यस अनुसार आज बुधबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभा तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
हाथवेले हाल कामय चुक्ता पूँजीको १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ०.५२६ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २६ गते, बिहीबार लैनचौर ब्याङ्क्वेट, लैनचौर काठमाण्डौंमा १५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।
त्यसैगरी, फर्स्ट माइक्रोफाइनान्सले सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले लघुवित्तको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चाचलकहरुको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
कम्पनीले पुस २८ गते, शनिबार आम्रपाली व्याङ्केट, भाटभटेनी, काठमाण्डौंमा चौधौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ। यता तारागाउँ रिजेन्सीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशतका दरले बोनस शेयर गरी कुल १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। सभाले पुस २४ गते, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा २७ औँ साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।