
काठमान्डौ/धरान उपमहानगरपालिकामा क्रियाशील ५ राजनीतिक दलले धरानका मेयर हर्क राज राई (साम्पाङ) निरन्तर रूपमा अराजकता, मनोमानी र उद्दण्डतामा प्रस्तुत भएको बताएका छन् ।
धरानका प्रमुख साम्पाङले आफ्नो कार्यकक्षमा राखिएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि धरानमा क्रियाशील ५ राजनीतिक दलहरूले धरानमा साम्पाङ मेयर भएपछि निरन्तर अराजकता तर्फ लागेको बताएका हुन् ।
बिहीबार प्रेस संयुक्त प्रेस विज्ञप्ति जारी गदै एमाले, काँग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीले साम्पाङ विजयी भएपछि भाइचाराका आधारमा मिलेर बसेको समाजलाई विभाजित गर्ने काम भएको समेत बताएका छन् ।
दलहरूले धरान उपमहानगर प्रमुखबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रणाली माथि गम्भीर प्रहार भएको बताएका छन् । उनीहरूले यसै प्रणालीलाई टेकेर अद्यावधिक निर्वाचनमार्फत निर्वाचित उपमहानगर प्रमुखले संविधानको ठाडो उलङ्घन गर्ने कार्य गरेको ठहर गरेका छन् ।




