
काठमान्डौ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उदयपुरको कटारी नगरपालिकामा मेडिकल कलेज स्थापनाको माग गर्दै सोमबार ज्ञापनपत्र बुझाइएको छ । सरकारले विगतमा सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता जनाए अनुसार कोशी प्रदेशको कटारीमा कलेज स्थापनाको माग गरिएको हो ।
प्रधानमन्त्रीको कार्यालयमा पुगेर सर्वदलीय, सर्वपक्षीय टोलीले ज्ञापनपत्र बुझाएको हो । ‘यसअघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित अध्ययन टोलीले समेत कटारी–३ मा अध्ययन गरिसकेको छ’, ज्ञापनपत्र बुझाउँदै कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले भने , ‘भौगोलिक, जनसङ्ख्या तथा अन्य जिल्लासँगको अवस्थाले कटारी नगरपालिका मेडिकल कलेज स्थापनाका लागि उपयुक्त स्थान देखिन्छ ।’सो अवसरमा प्रधानमन्त्री दाहालले मेडिकल कलेज स्थापना गर्न आफू सकारात्मक भएको जानकारी दिनुभएकोे नगरप्रमुख श्रेष्ठले बताए ।
कटारी–३ मा मेडिकल कलेज स्थापनाका लागि सो टोलीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई समेत ज्ञापनपत्र बुझाएको थियो । पत्र बुझ्दै राईले मेडिकल कलेज स्थापनाका लागि आवश्यक प्रक्रियाका कामको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । कटारीमा मेडिकल कलेज स्थापनाका लागि सिन्धुली, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बुका सांसदले समेत समर्थन गर्नुभएको जनाइएको छ । सिन्धुलीका सांसद राजन दाहाल, ओखलढुङ्गाका सांसद रामहरि खतिवडा, खोटाङका सांसद रामकुमार राईलगायत प्रदेश सभासदस्य, पालिकाका प्रमुखलगायतले समर्थन रहेको बताइएको छ । कटारीमा मेडिकल कलेज स्थापना भए सबै जिल्ला लाभान्वित हुने भएकाले समर्थन जनाएको सांसद अम्बरबहादुर रायमाझीले बताए ।
कटारी–३ मा मेडिकल कलेज स्थापना गर्न उपयुक्त हुने स्थान र पर्याप्त जग्गासमेत भएकाले कलेज स्थापनाका लागि आवश्यक सबै तयारी पालिकाले गर्ने कटारी उपप्रमुख गीता खड्काले बताए । यसका लागि सर्वदलीय, सर्वपक्षीय मेडिकल कलेज स्थापना समितिसमेत गठनगरी जग्गालगायतका अध्ययनका काम भइरहेको छ ।