फिदिम नगरका सबै माविमा सिसी क्यामेरा जडान

110
0
Share:

काठमान्डौ/ फिदिम नगरपालिकाले नगरभित्रका सबै माध्यमिक विद्यालयमा सिसी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाएको छ । नगरपालिकाका १४ वटै वडामा रहेका २० माध्यमिक विद्यालयलाई सिसी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाइएको हो ।

 

प्रत्येक विद्यालयमा चार वटाका दरले क्यामेरा जडान गरिएको नगरपालिकाले जनाएको छ । माध्यमिक विद्यालयमा जडित क्यामेराको निगरानी भने नगरपालिकाबाट गर्न मिल्ने व्यवस्था मिलाइएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षको रु आठ लाख ८५ हजार बजेटबाट सिसी क्यामेरा जडान गरिएको हो ।

 

‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयमा पठनपाठनलाई व्यवस्थित र प्रभावकारी बनाउन नियमित निगरानी गर्ने उद्देश्यले सिसी क्यामेराको व्यवस्था गरेका हौँ’, नगर प्रमुख काफ्लेले भने , ‘माविहरुमा क्यामेरा थप्ने तथा आधारभूत विद्यालयमा समेत सिसी क्यामेरा जडान गर्ने योजना बनाएका छौँ ।’

 

सिसी क्यामेराबाट विद्यालयको निगरानी पालिकाको शिक्षा शाखाबाट हुनेछ । नगर प्रमुख काफ्लेको मोबाइल (ट्याब)मा समेत ८० वटै सिसी क्यामेराले कैद गरेको भिडिओ हेर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

 

मङ्गलबार नगरपालिकाले सामुदायिक माविको सिसी क्यामेरा उद्घाटन कार्यक्रमपछि नगर प्रमुख काफ्लले कार्यकक्षबाट विद्यालयको अवस्था निगरानी गरेका थिय ।

 

सो क्रममा फिदिम–१० का वडाध्यक्ष ओमराज थाम्सुहाङले आफ्नो वडामा रहेको खलङ्गाटार माध्यमिक विद्यालयको अवस्था हेर्न नगर प्रमुख काफ्लेलाई आग्रह गरे ।

 

फिदिम–१० को खलङ्गाटार माध्यमिक विद्यालयमा नियमित पठनपाठन भइरहेको र विद्यार्थी तथा शिक्षकहरु कक्षाकोठामै रहेको पाएपछि वडाध्यक्ष थाम्सुहाङले भने , ‘नगरपालिकाबाटै निगरानी हुने भएपछि विद्यालयमा देखिने बेथिति कम हुने आशा जागेको छ ।’

 

पालिकाले निगरानी गर्ने भएपछि जनप्रतिनिधिलाई अटेरी गर्ने शिक्षकसमेत नियमित अध्यापनमा लाग्ने फिदिम–९ लुम्फाबुङका वडाध्यक्ष गङ्गाबहादुर राईको अपेक्षा छ ।

 

सिसी क्यामेरा उद्घाटन कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई पाँचथरका प्रमुख युगमणि सवेहाङले शैक्षिक क्रियाकलाप र शिक्षकको नियमित निगरानीले विद्यालयमा हुने क्रियाकलाप र शिक्षकको आचरण सुधारमा मद्दत मिल्ने बताए ।

 

प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले विद्यालयको सुरक्षामासमेत सिसी क्यामेराले मद्दत मिल्ने बताए । उनले सिसी क्यामेरा जडानलाई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने प्रयासको सुरुआतका रुपमा लिनुपर्ने बताए ।

 

जिल्लाको एक चौथाइ बढी जनसङ्ख्याको बसोबास रहेको फिदिममा २० माध्यमिकसहित कूल ७९ सामुदायिक विद्यालय छन् । सबै सामुदायिक विद्यालयमा विद्युत्, इन्टरनेट र ई–हाजिरीको व्यवस्था गरिएको नगर प्रमुख काफ्लेले बताए ।

Share: