Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नुवाकोटमा दुई हजार रोपनी वन क्षेत्रमा डढेलो – Lekhanpeeth

नुवाकोटमा दुई हजार रोपनी वन क्षेत्रमा डढेलो

Share:

काठमान्डौ/नुवाकोटमा करिब दुई हजार रोपनी वनमा डढेलोले क्षति पुर्‍याएको छ । डढेलोका कारण उक्त क्षेत्रमा वन पैदावर र वन्यजन्तु प्रत्यक्ष प्रभावित भएका हुन् ।गत फागुन पहिलो सातादेखि सुरु भएको यस वर्षको डढेलोका कारण जिल्लाको १२ वटै पालिकामा रहेका वन क्षेत्र प्रभावित भएको डिभिजन वन कार्यालयका प्रमुख रोशना पोखरेलले जानकारी दिए । उनका अनुसार जिल्लाका विभिन्न स्थानका २८ सामुदायिक र राष्ट्रिय वनमा लागेको डढेलोबाट करिब दुई हजार रोपनी वन क्षेत्रमा क्षति पुगेको प्रारम्भिक अध्ययनमा पाइएको छ ।

 

‘डढेलोका घटना धेरै बढ्न थालेकाले न्यूनीकरण र रोकथामका लागि सचेतना जगाउन केन्द्रित भएका छौँ’, डिभिजनल वन अधिकृत पोखरेलले भने , ‘अघिल्ला वर्षको तुलनामा यस वर्ष डढेलो लाग्ने वनको सङ्ख्या र क्षेत्रफल बढेको छ, पर्याप्त हिउँदे वर्षा नहुनु र मानवीय लापरबाहीबाट डढेलो फैलिएको छ ।’डिभिजन वन कार्यालयले सुक्खायामको समयमा हुनसक्ने डढेलो नियन्त्रण गर्न १० जना हरित स्वंयसेवक नियुक्त गरेर सचेतना र नियन्त्रणका लागि परिचालन गरेको छ । डढेलो नियन्त्रणका लागि सम्बन्धित वनका उपभोक्तालाई जागरुक र लापरबाही गर्नेलाई दण्ड, जरिवानाको कानुनी व्यवस्थासम्बन्धी सचेतनाका कार्यक्रम बढाएको कार्यालयका सूचना अधिकारी राजकुमार यादवले बताए ।

 

उनका अनुसार अधिकांश डढेलो मानवीय लापरबाही र त्रुटिबाट भएको पाइएको छ । केही स्थानमा नियतबस लगाएको पाइएकाले संलग्नको खोजी भइरहेको छ । नियतबस डढेलो लगाएको पुष्टि भएमा तीन वर्ष कैद र रु ६० हजार जरिवाना हुने कानुनी व्यवस्था छ । नुवाकोटका करिब चार सय सामुदायिक, राष्ट्रिय र निजी वन रहेका छन् । ती वनबाट ४० हजारभन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुँदै आइरहेका छन् ।

Share: