आयरल्यान्ड उल्भ्सले नेपाल ‘ए’ लाई दियो १७५ रनको लक्ष्य

110
0
Share:

काठमान्डौ/गाभिन होइको अर्धशतकप्रेरित आयरल्यान्ड वुल्भ्सविरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपाल ‘ए’ ले १७५ रनको लक्ष्य पाएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको वुल्भ्सले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको हो ।

 

वुल्भ्सका गाभिन होइले सर्वाधिक ५० रन रन बनाए । होइले ९४-७ को नाजुक अवस्थाबाट लियम म्याकार्थीसँग ४८ रनको साझेदारी गर्दै वुल्भ्सलाई सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए । माकार्थीले ३५ रन थपे । यसबाहेक, कप्तान निल रकले ४५ र पेटर मुरले १७ रन जोडे ।

 

नेपालका साहब आलम र रिजन ढकालले तीन/तीन विकेट लिए । १० ओभर बलिङ गरेका आलमले एक मेडन राख्दै ३५ रन खर्चिए । मौसम ढकालले दुई विकेट लिदा कमलसिंह ऐरीको नाममा समान एक विकेट रह्यो । यसअघि एक दिवसीय शृङ्खलाको पहिलो खेलमा वुल्भ्सविरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित भएको थियो । यसैकारण नेपाल आज जितसहित शृङ्खला बराबरी गर्ने लक्ष्यमा हुनेछ ।

 

आजको खेलपछि शृङ्खलाको अन्तिम खेल आउँदो आइतबार हुनेछ । यसअघि नेपाल ‘ए’सँगको ट्वान्टी-२० शृङ्खला आयरल्यान्ड वुल्भ्सले २-१ ले जितेको थियो । नेपाल ‘ए’ सँगको खेलअघि वुल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी-२० क्रिकेट खेलेको थियो । वुल्भ्स दुवै खेलमा पराजित भएको थियो ।

Share: