
काठमान्डौ/कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले दाबी पेस गर्नुहुने भएको छ ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न दिनुभएको समयसीमा आज बेलुका ५ः५० बजे सकिँदैछ । सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बीचको सहमतिका आधारमा नेता कँडेलले मुख्यमन्त्री पदमा दाबी पेस गर्नुहुने माओवादी केन्द्रका नेता कृष्णबहादुर जिसीले जानकारी दिए ।
“आज मुख्यमन्त्री पदमा दाबी पेसका लागि माओवादी केन्द्रले नेता कँडेललाई समर्थन गर्दछ’, उनले भने , ‘तर मन्त्रालय बाँडफाँटमा कुरा नमिलेसम्म माओवादी सरकारमा जाँदैन ।’ उहाँका अनुसार माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालयमा दाबी राख्दै आएको छ ।
एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईंले मन्त्रालय विभाजनमा छलफलका आधारमा गरिने बताए । ‘हामीले मुख्यमन्त्रीसहित माओवादी केन्द्रको एक मन्त्री पठाएर अहिले सानो आकारको सरकार बनाउन सुझाव दिएका छौ’, उनले भने , ‘विश्वासको मत लिइसकेपछि सरकार बिस्तार गर्दा हुन्छ भनेका छौँ ।’