Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
जापानमा ६ म्याग्निच्युडको भूकम्प – Lekhanpeeth

जापानमा ६ म्याग्निच्युडको भूकम्प

193
0
Share:

काठमान्डौ/जापानको केन्द्रीय प्रान्त इशिकावाको नोटो क्षेत्रमा सोमबार बिहान ६ म्याग्निच्युडको भूकम्प गएको जापानको मौसमसम्बन्धी संस्थाले जनाएको छ । जापानी मौसम विज्ञान एजेन्सी (जेएमए)का अनुसार स्थानीय समयअनुसार बिहान ६ बजेर ३१ मिनेटमा १४ किलोमिटर गहिराइमा भूकम्प गएको थियो भने भूकम्पको केन्द्रविन्दु ३७.५ डिग्री उत्तरी अक्षांश र १३७.३ डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।

 

जेएमएका अनुसार भूकम्पका कारण सामुद्रिक छालमा केही परिवर्तन देखिन सक्ने तर सुनामी आउने र सुनामीजन्य क्षतिको सम्भावना छैन ।

 

जापान जनवरी १ मा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले नोटो क्षेत्र र वरपरको क्षेत्रमा धक्का दिएको र यसले सुनामी निम्त्याएको थियो । सुनामीका कारण २६० जनाको ज्यान गएको थियो भने एक हजार ४३३ जना घाइते भएका थिए । उक्त प्राकृतिक विपत्तिमा ७५ हजारभन्दा बढी घरहरू क्षतिग्रस्त हुँदा विस्थापित भएका तीन हजार ३०० भन्दा बढी विस्थापित मानिसहरू अझै पनि शिविरमा बसिरहेका जापानको सरकारी तथ्यांकमा उल्लेख छ ।

 

स्थानीय प्रहरीका अनुसार सोमबारको भूकम्पले यसअघिको भूकम्पमा सबैभन्दा बढी प्रभावित शहर वाजिमामा पाँच घरहरु क्षतिग्रस्त भएका छन् । भूकम्पका कारण दुई जना घाइते भएका छन् ।यस क्षेत्रमा भूकम्पको तीव्रता महसुस भएपछि धेरैजना नोटो प्रायद्वीपमा भूकम्पको परिणामबारे फेरि चिन्तित भएका छन्, यद्यपि भूकम्पसँग जुधेर काम गर्नबाहेक कुनै विकल्प नभएको वाजिमा सहरका ६४ वर्षीय एक बासिन्दाले बताए ।

 

प्रमुख ऊर्जा कम्पनीहरूका अनुसार इशिकावाको सिका आणविक ऊर्जा संयन्त्र तथा नजिकैको निगाता प्रान्तको काशीवाजाकी–कारिवा आणविक ऊर्जा संयन्त्रमा कुनै असहजता फेला परेको छैन । भूकम्पपछि जोयत्सु र होकुरिकु सिङ्कानसेन बुलेट ट्रेनको सेवा अस्थायी रूपमा स्थगित गरिएको पूर्वी जापान रेलवे कम्पनी एन्डिटेमले जनाएको छ ।

Share: