Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
उद्योगमन्त्री भण्डारी र बेलायती राजदूत फेनबीच भेटवार्ता – Lekhanpeeth

उद्योगमन्त्री भण्डारी र बेलायती राजदूत फेनबीच भेटवार्ता

181
0
Share:

काठमान्डौ/उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित उद्योग मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी सहयोगको विषयमा छलफल भएको थियो ।

 

भेटमा मन्त्री भण्डारीले जलविद्युत् तथा ऊर्जा क्षेत्रको साथै उत्पादनमूलक उद्योग, सूचना प्रविधि र अन्य सेवा क्षेत्रमा बेलायती लगानीको लागि ठोस प्रयास गर्न आग्रह गरेका थिए ।

 

मन्त्री भण्डारीले नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने जनाउँदै त्यसपश्चात् केही वर्षको लागि अति कम विकसित मुलुकलाई प्रदान गरिने सुविधालाई निरन्तरता दिन आवश्यक पहल गरिदिन आग्रह समेत गरेका थिए ।

 

नेपालको उत्पादनशील क्षमता विकास गरी निर्यात अभिवृद्धि गर्न उद्योग तथा निर्यात व्यापारलक्षित प्राविधिक सहायता विस्तारको लागि भेटमा उनले अनुरोध गरेका थिए । “अन्तरआवद्धता, पूर्वाधार विकास, ऊर्जा, व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्ध लगायतका क्षेत्रमा बेलायत सरकारसँग साझेदारी विस्तारमा नेपाल प्रतिबद्ध छ । हामी उद्योग, जलविद्युत् र शिक्षा क्षेत्रको विकासमा बेलायतको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौँ,” मन्त्री भण्डारीले भेटमा भने ।

 

भेटमा बेलायती राजदूतले नेपालको निजी क्षेत्रको विकास बेलायतको प्राथमिकतामा रहेको भन्दै नेपाल सरकारसँग नजिक भएर काम गर्न इच्छुक रहेको बताएका थिए । नेपाली नियार्तलाई प्रर्वद्धन गर्न आफूहरूले सहयोग गर्ने प्रतिबद्धता समेत राजदूतले व्यक्त गरेका थिए । बेलायती राजदूतले बेलायत खुला अर्थतन्त्रको पक्षपाती मुलुक भएको भन्दै नेपाल र विश्व बजारको बीचमा आफूले सेतुको भूमिका खेल्ने जनाए । भेटमा बौद्धिक सम्पति संरक्षण तथा प्रवर्द्धन र द्विपक्षीय व्यापार तथा लगानीका विषयमा पनि समेत छलफल भएको थियो ।

Share: