Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पशुपतिनाथ भेटी चोरी प्रकरणस् पाँच कर्मचारी पुर्पक्षका लागि थुनामा, एक जना धरौटीमा रिहा – Lekhanpeeth

पशुपतिनाथ भेटी चोरी प्रकरणस् पाँच कर्मचारी पुर्पक्षका लागि थुनामा, एक जना धरौटीमा रिहा

165
0
Share:

काठमान्डौ/काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

 

जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार थुनछेक बहस सकिएपछि पाँच जनालाई थुनामा पठाउने र एक जनालाई तीन लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालका अनुसार अदालतले काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, काठमाडौँ महानगरपालिका–६ बस्ने कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

 

त्यसै गरी कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ३४ वर्षका अनिल परियार, कागेश्वरी मनोहरा–९ बस्ने ३५ वर्षका कुमार दमाईं परियार र भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१२ का २९ वर्षीय सञ्जय कपालीलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । परियारद्वय र कपाली कोषका बाजा बजाउने कर्मचारी हुन् ।

 

अदालतले काठमाडौँ महानगरपालिका–८ का ५५ वर्षीय सत्यनारायण जोशीलाई तीन लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । जेठ ७ गते भेटी चोरी गरेको देखिएपछि पक्राउ परेका सबै अभियुक्तविरुद्ध डाँका चोरी मुद्दा दर्ता गरिएको छ । महानगरीय प्रहरी वृत्त गौशालाले अनुसन्धानपछि जेठ ३२ गते सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले जेठ ३२ गते नै काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो ।

Share: