
काठमान्डौ/राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् ।
५२.१४ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन् । यो पटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । लेटर ग्रेडिङ पद्धति (तेस्रो संशोधनसहित) अनुसार सैद्धान्तिकतर्फ ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल अर्थात् ‘नन ग्रेडेड’ (एनजी) हुनेछन् । जसमा सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ अङ्क र आन्तरिक मूल्याङ्कन २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गरेको हुनुपर्छ ।
कुनै पनि विषयमा उत्तीर्ण हुन कम्तीमा पनि ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । प्रयोगात्मक विषयमा विद्यार्थीले ४० प्रतिशत अंक ल्याउनुपर्ने नियम पनि लागू गरिएको छ । प्रयोगात्मक र सैद्धान्तिक दुवै विषयमा विद्यार्थी उत्तीर्ण हुनुपर्नेछ । अन्यथा अनुत्तीर्ण भएको विषयमा विद्यार्थीले पूरक परीक्षा दिनुपर्नेछ । नतिजा बोर्डको वेबसाइट, नेपाल टेलिकमको १६०० मा कल गरेर, एसएमएस गरेर तथा वेबसाइटमार्फत पनि थाहा पाउन सकिनेछ ।
१५ चैतदेखि २७ चैतसम्म सञ्चालन भएको एसइई परीक्षामा देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट पाँच लाख चार हजार ४१४ जना विद्यार्थी सहभागी थिए ।