
काठमान्डौ/कास्कीको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुबेर फसेका एकै परिवारका ४ जनालाई बुधबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
गुल्मी घर भई हाल पोखरा बस्दै आएका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४वर्षीया आयुष्का अधिकारी वर्षाको उद्धार गरिएको एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
सो घटनाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरुको सकुशल उद्धार गरेको थापाले बताए ।
यसैगरी पोखरा महानगरपालिकास्थित सहेलापाटा निवासी बर्ष ५१ का मन बहादुर थापाको जस्ताले छाएको १ तले कच्ची घर पहिरोले पुरिँदा उनका २२ वर्षीय छोरा भीमबहादुर थापाको मृत्यु भएको छ । पहिरोमा बेपत्ता भएका उनको बुधबार बिहान शव फेला परेको डीएसपी थापाले जानकारी दिए ।