कास्की पहिरो अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो

Share:

काठमान्डौ/कास्कीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा-महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ भने पोखरा–३२ चैनपुर र मादी–११ मा बेपत्ता २ जनाको पनि शव फेला परेपछि मृतकको संख्या ११ पुगेको हो ।

 

पोखरा–३२ स्थित आरती ओझाको घर पहिरोले पुरिँदा मृत्यु हुनेमा १८ वर्षीय अस्मिता ओझा, १२ वर्षीय अनुष्का ओझा र ९ वर्षीय पुष्कर सुवेदी रहेको एसपी मोहन कुमार थापाले जानकारी दिए । ४० वर्षीय आरतीलाई घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको छ ।

 

कास्कीको मादी गाउँपालिका-११ तल्लो ताप्लेमा घर पुरिएर ८० वर्षीय माइतीकुमारी गुरुङको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । उनका छोरा ५५ वर्षका ओमबहादुर गुरुङलाई प्रहरी र स्थानीयमार्फत सकुशल उद्धार गरिएको एसपी थापाले बताए ।

 

बिहीबार राति खसेको पहिरोमा पुरिएर पोखरा-१९ पुरन्चौरमा ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित र तल्लाकोट बस्ने राधिका परियारको ज्यान गएको थियो ।

Share: