रामपुर नगरपालिकामा एक सय ३२ विद्यार्थीलाई ‘मेयर छात्रवृत्ति’

78
0
Share:

काठमान्डौ/पाल्पा जिल्लाको रामपुर नगरपालिकाले ‘मेयर छात्रवृत्ति’कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको छ । चार वर्षदेखि नगरमा उक्त कार्यक्रम सञ्चालन भएसँगै यसको प्रभावकारिता पनि बढ्दै गएको छ ।

 

नगरपालिकाले ल्याएको ‘मेयर छात्रवृत्ति’कार्यक्रमबाट यस वर्ष एक सय ३२ विद्यार्थी लाभान्वित भएका छन् । विपन्न, गरिब, असहाय बालबालिकाको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रममार्फत छात्रवृत्ति रकम उपलब्ध गराउँदै आइरहेको नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए ।

 

उनका अनुसार चालु आर्थिक वर्षमा नगरभित्रका २१ सामुदायिक विद्यालय र एउटा क्याम्पसका साधारण र उच्च प्राविधिक तथा विज्ञानतर्फ अध्ययनरत एक सय ३२ विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराइएको हो ।

 

नगरपालिकाले चार लाख ६६ हजार छ सय छात्रवृत्तिस्वरुप वितरण गरेको जनाउँदै नगरप्रमुख थापाले छात्रवृत्ति पाउनेमा साधारतर्फ एक सय २४ र उच्च प्राविधिक तथा विज्ञानतर्फ आठजना विद्यार्थी रहेका बताए ।

 

साधारणतर्फ बालहित, वीरेन्द्र, कालिका, अकला, मदरसा नुरुलहोदा अहले सुन्नत, विपी आदर्श र शारदाशरण प्राविका दुई-दुईजना विद्यार्थी छनोट रिएको थियो । रामपुर आधारभूत विद्यालयमा चार, दरैठाँटी माविमा १०, रामतुलसी नमूना माविमा १४ जना विद्यार्थी छनोट भएका नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिए । उनका अनुसार गङ्गा, सीता, सरस्वती, कृष्णादेवी, आधारभूत, जनविकास, नवदुर्गा, कालिका र सीताराम माविबाट छ-छ जनाले १५ हजारका दरले छात्रवृत्ति पाएका छन् ।

 

उच्च प्राविधिक तथा विज्ञानतर्फ दरैठाँटी माविमा दुईजनालाई आठ हजार, आधारभूत मावि र रामतुलसी नमूना माविमा तीन-तीनजनालाई छात्रवृत्तिस्वरुप १२-१२ हजार रकम वितरण गरिएको छ । साथै शहीद बहुमुखी क्याम्पस रामपुरमा भर्ना भएका २४ जना दलित समुदायका विद्यार्थीलाई भर्ना शुल्कबापत दुई लाख १६ हजार छ सय प्रदान गरिएको नगर शिक्षा अधिकृत काफ्लेले जानकारी दिए । उनका अनुसार नगरले विद्यार्थीको अवस्था र सङ्ख्याको अनुपातका आधारमा छात्रवृत्ति दिँदै आएको छ ।

 

यो कार्यक्रम नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि सुरु गरेको हो । ‘मेयर छात्रवृत्तिकोष’ अन्तर्गत सञ्चालित कार्यक्रमका लागि पहिलो वर्ष पाँच लाख बजेट विनियोजन गरिएकामा दुई लाख २४ हजार एक सय ८० रकम बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो ।

 

गत आवमा गङ्गा माविका र रामपुर आधारभूत विद्यालयका चार-चार, आधारभूत मावि र दरैठाँटी माविका समान पाँच, रामतुलसी नमूना माविका छ, नवदुर्गा माविका १०, शहीद बहुमुखी क्याम्पसका ३३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको थियो ।

 

नगरप्रमुख थापाले ‘मेयर छात्रवृत्ति’कार्यक्रमको प्रभावकारिता नगरमा बढ्दै गएको बताए । आर्थिक समस्याका कारण पठनपाठन बीचमा छोड्न बाध्य भएका गरिब, विपन्न, असहाय बालबालिकालाई उक्त कार्यक्रमले सहयोग गरिरहेको उनको भनाइ छ ।

 

“छात्रवृत्ति रकम वितरणले विद्यार्थीमा उत्साह बढेको छ, शैक्षिक क्षेत्रमा नगरले प्राथमिकता दिएर काम गरिरहेको छ, आर्थिक अभावमा कोही पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुनदिने छैनौँ”, नगर प्रमुख थापाले भन्नुभयो । बालबालिका भविष्यको आधार हुन्, पूर्वाधार विकाससँगै बालबालिकाको शिक्षाका लागि नगरपालिका प्रतिबद्ध भएर लागेको उनले बताए ।

 

असहाय बालबालिकाको संरक्षणका लागि नगरको तर्फबाट र अन्य सङ्घसंस्थासँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्दै आइएको नगरप्रमुख थापाले जानकारी दिए । यहाँ विसं २०७४ पछि जन्मिएका बालबालिकालाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने नीति नगरपालिकाले लिएको उनको भनाइ छ । उनका अनुसार नगरले तीनजना बेसहारा बालबालिकालाई बालउद्धार कोषमार्फत २० हजार सहयोग गरिरहेको छ ।

Share: