
काठमान्डौ/बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले आजदेखि १२ घण्टा शल्यक्रिया सेवा दिने भएको छ । अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीको संख्या बढिरहेकाले समय बढाउनुपरेको अस्पतालले जनाएको छ ।
अस्पतालको कार्डियोभास्कुलर सर्जरी विभाग प्रमुख डा. रामेश कोइरालाका अनुसार साउन १ देखि बिहान ८ बजेबाट राति ८ बजेसम्म अपरेसन थिएटर सञ्चालन गर्ने निर्णय भएको हो । कार्डियोभास्कुलर सर्जरी विभागमा दिनानुदिन शल्यक्रिया गर्नुपर्ने बिरामीको चाप बढ्दै गइरहेको, बिहान ९ बजे सुरु गर्दा एउटा थियटरमा सरदर दुइटाभन्दा बढी शल्यक्रिया गर्न नसकिने भएकाले सेवा अवधि बढाउने निर्णय गरिएको उनको भनाइ छ ।
हाल अस्पतालमा सञ्चालित तीन वटा थियटरबाट दैनिक ६-७ वटा शल्यक्रिया हुँदै आएको छ । अपरेसन थिएटरमा बिहान ७ बजेदेखि राति ९ बजेसम्म नर्सिङ स्टाफ तथा अन्य सहयोगी कर्मचारीहरूको व्यवस्था गरिदिन साथै उनीहरूको यातायातको प्रबन्धसमेत मिलाइदिन अस्पतालले अनुरोध गरेको छ ।
अस्पतालले तीन वटा युनिट गठन गरेर अपरेशन र ओपिडी सेवा प्रवाह गर्ने भएको हो । युनिट १ मा डा. रविभक्त टिमिला (युनिट इन्चार्ज), डा. सिद्धार्थ प्रधान, डा. निर्मल पन्थी, डा. विशाल सिंह र डा. मारिशा अर्याल रहेका छन् ।
यस्तै युनिट २ मा डा. रामेश कोइराला (युनिट इन्चार्ज), डा. आभाष कार्की, डा. अपूर्व ठाकुर, डा. अल्का सिंह र डा. धर्मेन्द्र जोशी छन् । युनिट ३ मा डा. नविनचन्द्र गौतम (युनिट इन्चार्ज), डा. विश्व पोखरेल, डा. निवेश राजभण्डारी, डा. ऋचा जोशी र डा. निशेष बस्नेत छन् ।