
काठमान्डौ/स्वदेशमा उखुखेतीको क्षेत्र, उत्पादन र चिनी उत्पादन एक दशकअघिको तुलनामा निकै घटेको बेला सरकारले औद्योगिक प्रयोजनका लागि विभिन्न उद्योगलाई चिनी आयातको अनुमति दिएको छ ।
स्वदेशी चिनी मिल र उखु किसानबीच लामो समय चलेको भुक्तानी विवादका परिप्रेक्ष्यमा किसानले उखुखेती घटाउँदै लगेका छन् भने स्वदेशी चिनी मिलको उत्पादन पनि १ दशकअघिको तुलनामा घटेको छ । यस परिप्रेक्ष्यमा बिस्कुट, चकलेट, डेरीलगायत उद्योगलाई चाहिने चिनी आयातको लागि सरकारले अनुमति दिएको हो ।
उद्योग विभागले हालै सूचना प्रकाशित गरी भारतबाट चिनी आयातका लागि १० उद्योगलाई स्वीकृति दिएको बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको असार २७ गतेको निर्णयअनुसार औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी विभिन्न १० उद्योगलाई कोटा तोक्दै चिनी आयातका लागि अनुमति दिएको विभागले जानकारी दिएको छ ।
१९ हजार मेट्रिक टन चिनी आयातका लागि एग्रो थाई फुड्स, गुडलाइफ बेभरेज, एशियन बिस्कुट एन्ड कन्फेक्सनरी, क्वालिटी फुड नेपाल, क्वालिटी फुड स्न्याक्स इन्डस्ट्रिज प्रालि, क्वालिटी कन्फेक्सरी प्रालि र क्वालिटी डाइट एन्ड फुड प्रोडक्सन प्रालिले अनुमति पाएका छन् । त्यसैगरी शिवम् डेरी एन्ड फुड इन्ड्रस्ट्रिज प्रालि, केआर भेन्चर्स र सुजल फुड्सले पनि आयातको अनुमति पाएको मन्त्रालयले बताएको छ ।
उद्योग विभागका सूचना अधिकारी अर्जुन सेनका अनुसार गतवर्ष चाडपर्वको समयमा नेपालमा चिनीको हाहाकार हुँदा सरकारले भारतबाट २५ हजार मेट्रिक टन आयातका लागि प्रक्रिया थाले पनि ल्याउन सकेको थिएन । समयमा चिनी ल्याउन नसकेको भन्दै सरकारको आलोचना भएपछि सरकारले उद्योगीहरूसँग सहमति गर्दै औद्योगिक प्रयोजनको चिनी उपभोक्तालाई घरायसी प्रयोजनको लागि विक्री गरेको थियो । त्यसैले उक्त परिमाणको चिनी उद्योगीलाई नै आयात गर्न दिने सरकारको योजनाअनुसार अहिले अनुमति दिइएको सेनले बताए । यसअघि ६ हजार मेट्रिक टन चिनी आयात भइसकेकाले अहिले १९ हजार टन आयातको अनुमति दिइएको सेनले बताए । पछिल्ला वर्षहरूमा नेपालमा उखुखेतीको क्षेत्र, उत्पादन तथा चिनीको उत्पादन घट्दै जाँदा उद्योगहरू आयातित चिनीको भर पर्न बाध्य भएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकले नेपालमा उखुखेतीको क्षेत्रफल घट्दै गएको देखाएको छ । मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो ३ वर्षमा नेपालमा उखु उत्पादन हुने क्षेत्रफल १५ सय २१ हेक्टरले घटेको देखिएको छ । उत्पादन पनि ५३ हजार ८३४ मेट्रिक टनले घटेको छ । आर्थिक वर्ष (आव) २०७७/७८ मा ६४ हजार ३५४ हेक्टर क्षेत्रफलमा उखुखेती भएकोमा आव २०७९/८० मा आइपुग्दा उत्पादन हुने क्षेत्रफल घटेर ६२ हजार ८३३ हेक्टर कायम भएको छ ।
उक्त अवधिमा उत्पादन पनि ३१ लाख ८३ हजार ९४३ मेट्रिक टनबाट ३१ लाख ३० हजार १०९ हेक्टरमा झरेको छ । तर, गत आवको पहिलो ६ महीनामा १९ लाख मेट्रिक टन उखु उत्पादन भएको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
आव २०८०/८१ मा सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ६३५ रुपैयाँ तोकेको थियो । तर, एक क्वीन्टलन उखुमा किसानको लागत नै करीब ७०० रुपैयाँ जति पर्न आउँछ । यद्यपि, उद्योग मन्त्रालयका अनुसार आव २०७९/८० मा १ लाख ६५ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा गत आव २०८०/८१ मा करीब १ लाख ८० मेट्रिक टन उत्पादन भएको छ ।
विगत वर्षहरूसँग तुलना गर्ने हो भने यो उत्पादन निकै कम हो । किनभने उद्योग मन्त्रालयको तथ्यांकअनुसार २०७० सम्म नेपालमा करीब २ लाख मेट्रिक टन चिनी उत्पादन हुन्थ्यो । नेपालमा वार्षिक चिनीको खपत २ लाख ५० हजार मेट्रिक टनसम्म रहेको साल्ट ट्रेडिङ लिमिटेडले बताएको छ ।