Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
किसानलाई अनुदानमा गहुँको बीउ वितरण – Lekhanpeeth

किसानलाई अनुदानमा गहुँको बीउ वितरण

288
0
Share:

काठमान्डौ/गहुँखेती लाउने समय घर्कँदै जाँदा बीउ नपाएर हैरान भएका महोत्तरीका केही भेगका किसानलाई राहत मिलेको छ । खेतबारी खनजोत गरेर तयार पारिसक्दासम्म भरपर्दो बीउ नपाएर हैरान भएका किसानलाई आफ्नो स्थानीय तहले उन्नत जातको गहुँको बीउ ५० प्रतिशत अनुदानमा पाएपछि राहत मिलेको हो । जिल्लाका मटिहानी र बर्दिबास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध गराएका छन् ।

 

“खेतबारी खनजोत गरेर तयार पार्‍यौँ, भरपर्दो बीउ नपाएर छर्न पाइएको थिएन”, मटिहानी–६ का किसान नेमत अतुल्लाले भने, “अहिले नगरपालिकाले आधा मूल्यमा उन्नत बीउ दियो, अब दुई–तीन दिनमै छरिसकिन्छ ।” मटिहानी नगर कार्यपालिकाको कार्यालयको कृषि शाखाले नगर क्षेत्रका नौ वटै वडाका नौ सय किसानलाई महोत्तरी कृषि ज्ञान केन्द्रले सिफारिस गरेको गौतम र विजय जातका उन्नत गहुँको बीउ वितरण गरेको हो । गहुँको बीउको निर्धारित मूल्य प्रतिकिलो रु ८५ मा अहिले किसानले ५० प्रतिशत अनुदानमा ४२ रुपैयाँ २५ पैसामै पाएका हुन् ।

 

गहुँबाली लगाउने समय घर्कँदै जाँदा बीउ खोज्न निकै भौँतारिएका किसान अहिले खुसी छन् । “पहिले निकै खोजी गरियो, विश्वासिलो बीउ भेटिएन, अहिले त आधा मूल्यमै पाइयो, निकै खुसी छौँ”, मटिहानी–८ का जसिम दर्जी भन्छन्, “नगरपालिकाले समयसमयमा हेर्छ भन्ने विश्वास जाग्यो ।” यता मधेसमा मङ्सिर चौथो साताको प्रारम्भदेखि पुसको दोस्रो साताभित्र गहुँ छर्ने उपयुक्त समय मानिन्छ । अहिले बीउ पाएपछि अब समयमै बाली लगाउन पाइएको किसान बताउँछन् ।

 

यसैगरी जिल्लाको सुदूर उत्तरवर्ती बर्दिबास नगरपालिकाको कृषि शाखाले पनि नगर क्षेत्रका चार सय २५ किसानलाई २० देखि ८० किलोग्रामसम्म गहुँको बीउ उपलब्ध गराएको छ । बर्दिबासमा उन्नत जातको गहुँको बीउ खरिदमा नगर कार्यपालिकाको कार्यालयले रु आठ लाख ५० हजार अनुदान उपलब्ध गराएको कृषि शाखाका प्रमुख साजन दाहाल बताउछन् । यस नगरक्षेत्रमा एक ४० क्विन्टल गहुँको बीउ किसानलाई वितरण गरिएको कृषि शाखाले जनाएको छ । बर्दिबासमा कुल नौ हजार पाँच सय ६५ हेक्टर खेतीयोग्य जग्गामध्ये दुई हजार तीन सय १५ हेक्टरमा गहुँखेती गरिँदै आइएको दाहालको भनाइ छ ।

 

जिल्लामा जम्मा १५ स्थानीय तह छन् । सबैतिरको मुख्य पेसा खेती नै छ । यसैले गहुँमात्र नभएर सबैजसो बाली लगाउन किसानलाई उत्प्रेरित गर्न सम्बद्ध स्थानीय तहको नेतृत्वले पहलकदमी लिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमारलाल कर्णको सुझाव छ ।

Share: