पर्वतमा ग्यास चुहिएर आगलागी, वृद्धाको मृत्यु

59
0
Share:

काठमान्डौ/पर्वतको कुश्मा नगरपालिका–१०, पिपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घटनास्थलमा एक महिलाको मृत्यु भएको छ ।

 

पिपलटारीस्थित तल्लो रोहोटेका ध्रुव रेग्मीको घरको ग्यास आइतबार (आज) बिहान फेर्ने क्रममा चुहिएर एक्कासि आगलागी हुँदा जलेर छिमेकी ७३ वर्षीया दुर्गादेवी पौडेलको मृत्यु भएको हो । पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा गएकी थिइन् ।

 

घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार, जिल्ला अस्पताल पर्वतमा घाइतेको प्राथमिक उपचार गरिएको थियो । थप उपचारका निम्ति रेग्मीलाई पोखरा पठाइएको छ ।

 

आगलागीलगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरमा क्षति पुगेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए ।

 

ती महिलाको शव परीक्षणका निम्ति जिल्ला अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

Share: