माघेसङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ

93
0
Share:

काठमान्डौ/माघेसङ्क्रान्ति नजिकिएसँगै सर्लाहीको बागमतीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ भएको छ । पुसको दोस्रो हप्ता लागिसक्दा सङ्क्रान्तिका लागि तरुल निकाल्ने चटारो बढेको बागमती नगरपालिका–५ टेकानीका तरुल किसान दलबहादुर लुङ्गेलीले बताए । लुङ्गेलीले बागमती खोला बगरमा पाँच कट्ठा खेतमा तरुल लगाएको छ ।

 

चाडबाडको मुखमा मूल्यसमेत राम्रो पाउने भएकाले पुसको तेस्रो हप्तासम्म तरुले बेचिसक्ने योजना बनाएको उनले सुनायो । “तरुलको मूल्य माघेसङ्क्रान्तिमा राम्रो पाइन्छ ।” उनले भने, त्यसकारण पुस २५÷२६ सम्म बेचिसक्ने योजना छ ।” त्यसपछि तरुलले उति राम्रो मूल्य नपाउने अनुभव छ । तरुल स्वास्थ्यका हिसाबले चिसो मौसममा उपयोगी रहेकाले यस बेला ब्यापार र मूल्य बढ्ने गरेको छ ।

 

बागमती नगरपालिका–५ स्थित बागमती नदी उकास जमिनमा किसानले ठूलो क्षेत्रफलमा तरुलखेती गर्ने गरेका छन् । बालुवा तथा खोलाको पाँगो माटो भएका जग्गामा तरुल उत्पादन राम्रो हुने गरेको स्थानीय किसान हिरालाल मण्डलको भनाइ छ । “बगरको खेती सुन जस्तै बनेको छ”, “तरुल उत्पादनबाट मनग्य आम्दानी हुन्छ ।”

 

तरुलखेती गरेका बागमती नगरपालिका–४, जिराएतका किसान विमल खड्काले तरुलको उत्पादन राम्रो हुँदा अन्यबालीभन्दा धेरै आम्दानी हुने गरेको बताए । आफ्नो र ठेक्का गरेर खड्काले पनि एक बिघा बगर खेतमा तरुल लगाएको छ । केहीमा तरुल उत्पादन राम्रो भएको र केहीमा बिग्रिएको भनाइ थियो ।

 

यहाँका किसानहरूले आकासे र पताले गरी दुई जातको तरुल उत्पादन गर्ने गरेका छन् । आकासे अर्थात् सेतो तरुल कम स्वादिलो हुने धेरै उत्पादन हुने तथा मूल्य केही कम हुने गरेको बागमती–४ जिरायतका तरुल व्यापारी राम दरेस महतोले बताए । अर्को पताले अर्थात् रातो जातको तरुल भने उत्पादन केही कम हुने खान पनि स्वादिलो हुने भएकाले मूल्यसमेत राम्रो रहेको उनको भनाइ छ ।

 

यहाँका किसानले प्रतिबिघा ८० देखि एक सय २० क्विन्टलसम्म तरुल फलाउने गरेका छन् । यस वर्ष छठको समयमा तरुल प्रतिकिलो एक सय २० रुपैयाँसम्ममा बिक्री भएको थियो । अहिले बजार मूल्य प्रतिकिलो ५५ देखि ६० रुपैयाँ रहेको तरुल व्यापारी डम्बरबहादुर खड्काको भनाइ छ । यस वर्ष २० बिघामा लगाएको तरुल बजार लैजाने योजना छन् ।

 

आफ्नो र भाडामा गरी २० बिघा बढी खेतमा तरुल लगाएको छ । जग्गा भाडामा लिदा वर्षको प्रतिबिगाहा ५० देखि ६० हजार रुपैयाँसम्म तिर्नुपर्ने भनाइ छ । तरुल खेती गर्दा प्रतिकठ्ठा बीउ, मलखाद, कामदार गरी रु आठ हजारसम्म खर्च हुने गर्दछ । तरुल खेतीबाट किसानहरूले प्रतिकट्ठा ३० देखि ४० हजारसम्म आम्दानी गर्दछ ।

 

बागमती नगरपालिका कृषि शाखाका अनुसार यस क्षेत्रमा बर्सेनि लगभग तीन सय बिगाहा क्षेत्रफलमा तरुलखेती हुँदै आएको छ । सिँचाइ हुने खेतमा पानी जम्ने जोखिम रहेकाले तरुल उत्पादनका लागि बगर खेत उपयुक्त हुने कृषि प्राविधिकहरू बताउँछन् । बागमती नदी उकास जग्गा तरुल उत्पादनका लागि निकै उपयोगी बनेको छ ।

 

केही समयअघिसम्म यसैखेर गइरहेको बगरखेतीमा यतिबेला किसानले सुन फलाइरहेका बागमती नगरपालिका कृषि शाखा प्राविधिक हिमाल शाहीले बताए । खोलाको बगर स्थानीय किसानले प्रतिपरिवार पाँच कट्ठाको दरले भाग लगाएर केही समय ता खेती गर्दै आएका छन् । बगरमा किसानले तरुलसहित मुम्फली, सखरखण्ड, तोरी, मकै, रहरी, परबर, बोडीलगायतको खेती गर्ने गरेका छन् । खेती राम्रो हुने गरेकाले स्थानीयको आयस्तरमा समेत परिवर्तन ल्याएको नगरपालिकाले जनाएको छ ।

Share: